Technology Khabar २० बैशाख २०८०, बुधबार
काठमाडौं ।
कर्मचारीहरुले च्याटजिपिटीमा संवेदनशिल कोड अपलोड गरेको पत्ता लागेपछि सामसङले कर्मचारीहरुलाई एआई च्याटबोट र अन्य जेनेरेटिभ एआई उपकरणहरु प्रयोग गर्नबाट रोक लगाएको बताइएको छ।
ब्लूमबर्ग न्यूजका अनुसार दक्षिण कोरियामा आधारित कम्पनीले सोमबार आफ्नो सबैभन्दा ठूलो डिभिजनका कर्मचारीहरुलाई मेमो मार्फत नयाँ नीति जारी गर्दै उक्त विषय सुचित गरेको बताइएको हो।
गुगल बार्ड र विंग लगायत एआई प्लेटफर्ममा ट्रान्स्मिट गरिएका डाटाहरु बाहिरी सर्भरहरुमा भण्डार गरिएको हुने भन्दै सामसङले प्लेटफर्मको उपयोगिता र दक्षता सँगसँगै जेनेरेटिभ एआइबाट प्राप्त हुने सुरक्षा जोखिमहरु पनि बढ्दो चिन्ताको विषय रहेकोमा पनि कर्मचारीहरुलाई ध्यानाकर्षण गराएको बताईएको छ ।
कर्मचारीहरुलाई कम्पनीको सुरक्षा मार्गदर्शनहरु लगनशिलताका साथ पालना गर्न आग्रह गर्दै कम्पनीको जानकारी उल्लङ्घन गरेमा कम्पनीले उचित कारबाही तथा उक्त कर्मचारीको रोजगारी समेत खोसिने मेमोमा उल्लेख छ।
गत महिनामा समेत गल्तिबस सामसङ ईन्जिनियरहरुबाट आन्तरिक स्रोत या कोड च्याटजीपीटीमार्फत लीक भएको मेमोमा उल्लेख गरिएको बताइएको छ।
त्यस्तै, सामसङले अनुवाद, कागजातहरूको सारांश र सफ्टवेयर विकासका लागि आफ्नै आन्तरिक एआई उपकरणहरू पनि विकास गरिरहेको बताइएको छ।
प्रकाशित: २० बैशाख २०८०, बुधबार