स्मार्ट टेलिकमद्धारा तीन वटा प्रदेशमा अप्टिल फाइबर बिछ्याउन शुरु

Technology Khabar २५ माघ २०७५, शुक्रबार

स्मार्ट टेलिकमद्धारा तीन वटा प्रदेशमा अप्टिल फाइबर बिछ्याउन शुरु

काठमाडौं ।

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको डिजीटाइजेशन अभियान अन्तर्गत प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु भएको छ।

बुधबार बिहान नेपालगञ्जबाट फाइबर बिछ्याउन सुरु गरिएको जनाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडिएफ) अन्तर्गत सरकारले फाइबर बिछ्याउने कामको जिम्मा स्मार्ट टेलिकमलाई दिएको छ।

सोही अनुसार स्मार्ट टेलिकम र सीसीएस (चाइना कम्युनिकेशन सर्भिस नेपाल) ले कामको थालनी गरेका हुन् ।

परियोजनाको सुरुवात गर्दै स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले सरकारको डिजीटाइजेशन अभियान अन्तर्गत स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा फाइबर बिछ्याउने काम सुरु गरेको जानकारी दिए।

प्रदेश नम्बर ५ का बाँके, बर्दिया, ६ र ७ का सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझांङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुला गरी १९ जिल्लामा फाइबर विछ्याउने काम एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

करिव २५ सय किलोमिटर फाइबर १९ जिल्लाका प्रमुख हाईवे र सदरमुकाममा पु¥याइने कम्पनीको भनाइ छ।कम्पनीका अनुसार फाइवर ओछ्याएपछि कुनै पनि निजी, सरकारी वा अन्य संस्थाले यसको उपभोग गर्न सक्छन्। उनीहरुले छुट्टै लगानी गर्नु पर्दैन।

निश्चित रकम तिरेपछि यही संरचनामार्फत आफ्नो सेवा विस्तार गर्न पाउनेछन् । यो काम सक्नका लागि करिव ३ अर्ब रुपैयांँ ग्रामिण दूरसञ्चार कोषको रकम सरकारले सब्सिडिका रुपमा उपलब्ध गराएको हो।

फाइबर स्मार्टले २५ वर्षसम्म यसको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्हार गर्नेछ। २५ वर्षपछि यो परियोजना सरकारलाई हस्तान्तरण गरिनेछ।

हाल नेपालमा मोबाइलमा सर्वसाधारणको पहुँच ४९ प्रतिशत मात्रै रहेको छ। फिक्स्ड ब्रोडब्याण्डमा ११.२ प्रतिशत मात्र पहुँच रहेको छ । फाइबर विस्तारले यो प्रतिशतलाई बढाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।

easy care

प्रकाशित: २५ माघ २०७५, शुक्रबार