अनुमति नै नलिई इन्टरनेट सेवा दिएको भेटियो, सूपरनेट कम्यूनिकेसनलाई कारबाहीको तयारी

Technology Khabar ५ मंसिर २०७५, बुधबार

अनुमति नै नलिई इन्टरनेट सेवा दिएको भेटियो, सूपरनेट कम्यूनिकेसनलाई कारबाहीको तयारी

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति नलिईकन नै इन्टरनेट सेवा प्रदायकको रुपमा गैरकानुनी तरिकाले सेवा प्रदान गरिरहेको भेटिएको छ ।

हालै प्राधिकरणले गरेको अनुगमनको क्रममा तनहुँको भिमाद नगरपालिकामा रहेको सूपरनेट कम्यूनिकेसन प्रालिले प्राधिकरणको अनुमति बिना नै करिब १०० जना ग्राहकहरुलाई सेवा दिएको भेटिएको हो ।

दूरसंचार प्राधिकरणले ग्राहकहरुको गुनासोको आधारमा अनुगमनको गर्दा भीमाद नगरपालिकामा कार्यालय रहेको सूपरनेट कम्यूनिकेसनले गैरकानूनीरुपमा सेवा दिएको भेटेको हो ।

सो कम्पनीले अर्को अनुमतिप्राप्त इन्टरनेट सेवा प्रदायक(आईएसपी)सँग इन्टरनेट सेवा लिई सो सेवा अन्य ग्राहकहरुलाई गैर कानूनीरुपमा बिक्री गर्दै आएको भेटिएको प्राधिकरणका एक अधिकारीले बताए ।

‘सो कम्पनीले अनुमति नलिईकन नै सेवा दिएको जानकारी आएपछि अनुगमनको क्रममा जाँदा सो पुष्टि भयो, हामीले कारबाहीको लागि प्रकृया शुरु गरिसकेका छौं,’ ती अधिकृतले टेक्नोलोजीखबरसँग भने ।

अनुगमनका क्रममा कम्पनीले आफ्नै नाममा सेवा दिईरहेको र ग्राहकहरुलाई आधिकारिक बिल बिजक जारी नगरेको भेटिएको प्राधिकरणका अधिकारीले जानकारी दिए । त्यसैगरि कम्पनीले विशेष सफ्टवेयरको विकास गरि सेवा दिईरहेको भेटिएको थियो ।

सूपरनेटले काठमाडौंमा रहेको स्मार्टलिंक नेटवर्क प्रालिसँग सेवा लिएर अन्य ग्राहकहरुलाई गैरकानूनीरुपमा सेवा दिँदै आएको भेटिएको प्राधिकरणले जानकारी दिएको छ । सूपरनेटले तनहुँको भीमाद, छाङपाटन, जलौदीलगायतका क्षेत्रहरुमा सेवा संचालन गरिरहेको भेटिएको हो ।

दूरसंचार प्राधिकरणबाट गएको अनुगमन टोलीले सो कम्पनीको सेवा बन्द गराएको छ भने इन्टरनेट सेवामा प्रयोग हुँदै आएको उपकरणहरु समेत सिलबन्दी गरेको छ ।

प्राधिकरणले सो कम्पनीलाई कारबाहि गर्ने प्रकृया शुरु गरिसकेको छ भने सो कम्पनीलाई इन्टरनेट उपलब्ध गराउने स्मार्टलिंक नेटवर्कलाई पनि कारबाही गर्ने बारेमा थप अध्ययन भईरहेको प्राधिकरणका अधिकारीको भनाई छ ।

easy care

प्रकाशित: ५ मंसिर २०७५, बुधबार

ताजा समाचार