दूरसंचार प्राधिकरण अध्यक्षका लागि खुला आवेदन माग हुँदै, यस्तो छ कानूनमा व्यवस्था

Technology Khabar १ भाद्र २०७५, शुक्रबार

दूरसंचार प्राधिकरण अध्यक्षका लागि खुला आवेदन माग हुँदै, यस्तो छ कानूनमा व्यवस्था

काठमाडौं ।

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरण(एनटिए)को अध्यक्षको लागि नयाँ सूचना सार्वजनिक गरेर आवेदन माग गर्ने भएको छ ।

प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि न्यूनतम मापदण्ड र योग्यता खुलाएर सरकारले खुला आव्हान गर्दै नयाँ सूचना प्रकाशित गर्न लागेको हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरण अध्यक्षको लागि छिटै सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको सो विषयमा जानकार एक अधिकारीले बताए ।

‘सरकारले खुला आवेदन माग गर्ने तयारी गरेको छ, संभवत आजभोलीमा नै अध्यक्षका लागि नयाँ सूचनामार्फत आवेदन माग गर्नेछ,’ मन्त्रालय स्रोतले टेक्नोलोजीखबरसँग भन्यो ।

स्रोतकाअनुसार खुला आवेदनको सूचनामा सरकारले न्यूनतम आधाभूत योग्यता समेत खुलाउने छ भने यसअघिका केहि योग्यताहरुलाई थपघट गरिएको छ ।

प्राधिकरणमा नयाँ अध्यक्ष चयनको बारेमा निकै प्रयासहरु भएको समाचार विभिन्न संचारमाध्यमहरुमा आएपनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन् । यसअघिका अध्यक्ष दिगम्बर झालाई सरकारले पदबाट बर्खास्त गरेपछि हालसम्म अध्यक्ष नहुँदा प्राधिकरणले गर्ने महत्वपूर्ण र नीतिगत कार्यहरु ठप्प छ ।

यसअघि नै सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष चयनका लागि छनौट तथा सिफारिस समिती गठन गरिसकेको छ।

मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गको संयोजकत्वमा ३ सदस्यिय छनौट तथा सिफारिस समिती गठन गरेको हो, जसले नयाँ अध्यक्ष खुला प्रतिस्पर्धामार्फत छनौट गर्नेछ ।

सो समितीमा सचिव बाहेक मन्त्रालयका एक जना सहसचिव नै सदस्य सचिव हुनेछन भने अर्को एक जना सदस्य विज्ञको रुपमा राखिनेछ।

सो समितीले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र कानून तर्फको सदस्यको लागि खुला प्रतिस्पर्धामार्फत सरकारलाई सिफारिस गर्नेछ । त्यस्तो सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।

सोहि सिफारिस भएको नामको आधारमा मन्त्रिपरिषदले नयाँ अध्यक्ष तथा सदस्य नियुक्ति गर्नेछ ।

दूरसंचार ऐनमा के छ ?

प्राधिकरणका अध्यक्ष चयन गर्न दूरसंचार ऐन २०५३ अनुसार सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा समिति बन्नेछ, जसमा एकजना विज्ञसहित मन्त्रालयका सहसचिव सदस्य सचिवको रुपमा रहनेछन् ।

दूरसंचार ऐन २०५३ को दफा ५ मा प्राधिकरणको गठनको बारेमा उल्लेख छ । सो दफाको उपदफा १ मा ‘प्राधिकरणमा दूरसंचार सेवासंग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा तोकिए बमोजिम योग्यता र अनुभव भएका अध्यक्ष सहित पाँचजना सदस्यहरु रहनेछन्,’ भन्ने उल्लेख छ ।

त्यस्तै सोही दफाको उपदफा २ मा प्राधिकरणको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको विषयमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, ‘प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिश गर्न नेपाल सरकारले सम्बद्ध क्षेत्रका विज्ञहरू समेत रहेको एक समिति गठन गर्ने र सो समितिको सिफारिशमा नेपाल सरकारले अध्यक्ष तथा सदस्यको नियुक्ति गर्नेछ ।

कति चाहिन्छ योग्यता ?

दूरसंचार नियमावली २०५४ मा प्राधिकरणको अध्यक्ष हुनका लागि न्यूनतम योग्यता स्पष्ट तोकिएको छ । नियमावलीमा प्राधिकरणको अध्यक्ष वा सदस्य हुनको लागि ऐनको दफा ५ को उपदफा १ मा,’उल्लेखित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने,’ उल्लेख छ ।

समितिले छनौट गरेर ३ जनालाई अध्यक्ष पदका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ भने मन्त्रिपरिषदले छनौट भएका मध्येबाट एक जनालाई अध्यक्ष पदमा ५ वर्षका लागि नियुक्ति गर्नेछ ।

easy care

प्रकाशित: १ भाद्र २०७५, शुक्रबार

ताजा समाचार