फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या ‘डबल डिजिट’मा, मोबाइलको पहुँच १३० प्रतिशत

Technology Khabar २४ श्रावण २०७५, बिहीबार

फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या ‘डबल डिजिट’मा, मोबाइलको पहुँच १३० प्रतिशत

काठमाडौं ।

काठमाडौं । मुलुकमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको प्रतिशत पहिलो पटक दोहोरो अंक(डबल डिजिट) मा कायम भएको छ । नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या कुल ५० प्रतिशतभन्दा बढि देखिएपनि तारमार्फत ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या पहिलो पटक १० प्रतिशत नाघेको हो ।

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांकअनुसार फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड)तर्फ प्रयोगकर्ताहरु १०.२३ प्रतिशत पुगेका छन् । त्यस्तै फिक्स्ड ब्रोडब्याण्ड (वायरलेस)तर्फ भने १.१० प्रतिशत ग्राहकहरु रहेको देखिएको छ ।

मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या भने सबैभन्दा धेरै अर्थात ३९ दशमलब ९८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । कुल ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या भने ५०.३२ प्रतिशत पुगेको देखिएको छ ।

फिक्स्ड ब्रोडब्याण्ड वायर प्रयोगकर्ताहरुमध्ये सबैभन्दा धेरै केबल/एफटिटिएचमार्फत इन्टरनेट सेवा प्रयोग गर्ने रहेका छन जसको संख्या २० लाख ४३ हजार छ, यसमध्येपनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका ग्राहक करिब १९ लाख ९७ हजार १ सय ३५ रहेको छ भने बाँकी नेपाल टेलिकमका ग्राहक छन् । त्यस्तै एडिएसएल सेवा प्रयोगकर्ताहरुको संख्या पनि ९ लाख ९५ हजार ९ सय ७४ पुगेको छ भने इन्टरनेट लिजलाइन लिनेको संख्या ५२९ रहेको छ ।

फिस्क्ड ब्रोडब्याण्ड तर्फ नै वायरलेस प्रविधिमार्फत इन्टरनेट सेवा लिनेमा रेडियो वाईफाई मार्फत२ लाख ३६ हजार भन्दा बढि छन भने वाईम्याक्स सेवा लिनेको संख्या ८५ हजार ५ सय भन्दा केहि बढि रहेको छ ।

मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताहरुमध्ये सबैभन्दा धेरै थ्रीजी प्रयोगकर्ताहरु छन भने त्यसपछि फोरजी र ईभीडियो सेवा लिनेहरु छन् । थ्रीजी प्रयोगकर्ताहरु जम्मा ९५ लाख १० हजार २ सय १९ जनामध्ये एनसेलका प्रयोगकर्ता ५० लाख २५ हजार बढि छन भने नेपाल टेलिकमका प्रयोगकर्ताहरु ४४ लाख ८४ हजार बढि रहेको देखिन्छ । त्यस्तै फोरजी सेवा प्रयोगकर्ताहरु १७ लाख ९ हजार मध्ये पनि सबैभन्दा धेरै एनसेलका १० लाख ७९ हजार बढि प्रयोगकर्ताहरु छन भने ५ लाख ९१ हजार बढि टेलिकमका तथा ३९ हजार १ सय ५५ जना स्मार्ट टेलिकमका प्रयोगकर्ताहरु छन् ।

इभिडियो तर्फभने कुल १ लाख ९९ हजार ७ सय ७६ प्रयोगकर्ताहरु रहेका छन् ।

कम्पनीहरुको आधारमा हेर्दा सबैभन्दा धेरै ब्रोडब्याण्ड प्रयोगकर्ताहरु नेपाल टेलिकमका छन जहाँ ६२ लाख ९७ हजार २६ सेवा ग्राहक छन भने एनसेलसँग ६१ लाख ४ हजार ९ सय ६ जना रहेका छन् । आइएसपी कम्पनीहरुसँग २२ लाख ३३ हजार ९ सय ६१ जना सेवाग्राही छन भने बाँकी स्मार्टसेलका रहेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा नेपालमा कुल मोबाइल फोन प्रयोगकर्ताहरु जीएसएम र सिडिएमएसहित ३ करोड ८० लाख ४५ हजार ३ सय रहेको छ भने मोबाइलको पहुँच १२९.८८ प्रतिशत करिब (१३० प्रतिशत) पुगेको छ । जीएसएम प्रयोगकर्ताहरुको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाल टेलिकमका १ करोड ७३ लाख ६२ हजार ५ सय ५४ छ भने त्यसपछि एनसेलको १ करोड ६४लाख ५२ हजार १ सय १० सेवाग्राही रहेका छन् ।

easy care

प्रकाशित: २४ श्रावण २०७५, बिहीबार