आइएमइआइ दर्ता नभएका मोबाइल फोन प्रयोगमा रोक लाग्दै, यसरी थाहा पाउनुस् आइएमइआइ नम्बर ?

Technology Khabar १७ बैशाख २०७५, सोमबार

आइएमइआइ दर्ता नभएका मोबाइल फोन प्रयोगमा रोक लाग्दै, यसरी थाहा पाउनुस् आइएमइआइ नम्बर ?

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विदेशबाट अवैधरुपमा आउने मोबाइल फोनहरुलाई नेपालमा प्रयोग गर्नबाट रोक लगाउने भएको छ । प्राधिरकणले नेपालमा भित्र्ने मोबाइल फोनहरु अनिवार्यरुपमा प्राधिकरणमा दर्ता हुनुपर्ने र त्यस्तो फोनको रेकर्ड राख्ने गरि नयाँ अटोमेटेड प्रविधि संचालन गर्न लागेको छ ।

प्राधिकरणले हालै नेपालमा भित्र्ने मोबाइल उपकरणहरु दर्ता गर्नका लागि इक्यूपमेन्ट आईडेन्टिटि रजिस्ट्रेशन(इआईआर) को विनियमावली पारित गरेपछि नेपालमा अवैधरुपमा आउने मोबाइल फोनमा प्रतिबन्ध लाग्ने भएको हो । सो विनियमावली प्राधिकरण बोर्ड पारित गरिसकेको छ भने सोहि विनियमावलीको आधारमा छिटै उपकरण खरिदको टेण्डर गर्न लागिएको छ ।

प्राधिकरणले इआईआर प्रणालीको उपकरण खरिद गर्न करिब १ अर्ब ३० करोड रुपैयाँ छुट्याएको र सो उपकरण खरिद गरेपछि परामर्शदातामा सो प्रविधि संचालन गरिने प्राधिकरणका उप निर्देशक विनोदचन्द्र श्रेष्ठले जानकारी दिए ।

‘प्राधिकरणले विनियमावली पास गरिसकेको छ र छिटै टेण्डरमार्फत उपकरण खरिद प्रकृया शुरु गर्दैछौं,’ श्रेष्ठले मोबाइल्सखरसँग भने ।
उप निर्देशक श्रेष्ठकाअनुसार सो प्रविध पूर्ण स्वचालित हुने र सबै सेवा प्रदायक हरु सो प्रविधिमा जोडिनेछन् ।

ह्वाइट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट

प्राधिकरणले सो प्रविधि शुरु भएपछि प्राधिकरणले मोबाइल फोनहरुको ह्वाइट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट तयार पार्नेछ ।

ह्वाइट लिस्टमा भएका मोबाइल फोनहरु पूर्णरुपमा संचालन गर्न पाईने छ भने ग्रे लिस्टमा भएका मोबाइल फोनहरु अनुसन्धानको घेरामा हुनेछन् । चोरी भएका वा हराएका फोनहरुको उजुरीको आधारमा यस्ता मोबाइल फोनहरु ग्रे लिस्टमा राखिने छ । त्यस्तै ब्ल्याक लिस्टमा भएका फोनहरु नेपालमा प्रयोगमा प्रतिबन्ध लाग्ने छ । यस्ता फोनहरु कुनैपनि मोबाइल अपरेटहरुहरुको सिम प्रयोग गरेर प्रयोग गर्न सकिँदैन् ।

प्राधिकरणले मोबाइल फोनहरुको लिस्ट बनाउनुभन्दा पहिले हाल बजारमा भएका सम्पूर्ण फोनहरुलाई समय सीमा तोकेर दर्ता गर्न आउन सार्वजनिक सूचना दिने उप निर्देशक श्रेष्ठले जानकारी दिए ।

‘अपरेटर, एनटिए र थर्ड पार्टिमा पनि दर्ता नभएका सेटहरुलाई सयम सीमा दिने र त्यसपछि बन्द गराउने छौं,’ उप निर्देशक श्रेष्ठले मोबाइल्सखबरसँग भने ।

सो पारित भएको विनियमावलीमा आयातकर्ताहरु, व्यक्तिगत, प्राधिकरण र भन्सार कार्यालयहरुको छुट्टाछुट्टै जिम्मेबारी समेत तोकेको छ ।

प्राधिकरणले यो सम्पूर्ण प्रणाली शुरु गर्न छुट्टै संस्थालाई दिने र केन्द्रिय डाटावेस तयार पार्ने र आईएमईआई को लागि जिम्मा दिने बताईएको छ ।

श्रेष्ठकाअनुसार सो विनियमावलीअनुसार आगामी आर्थिक वर्षको शुरुवातदेखि नै सो प्रणाली लगाउने तयारी गरिएको छ ।

‘हामीले यसलाई छिटै ल्याउने तयारी गरेका छौं, मन्त्रालयको १०० दिने कार्ययोजनामा पनि यसलाई राखिएको छ, साउनमा भ्याएन भनेपनि त्यसको केहि समयपछि लागू हुन्छ,’ उनले भने ।

के हो आईएमईआई नम्बर ?

हरेक मोबाइललाई एउटा विशेष नम्बर प्रदान गरिएको हुन्छ जसलाई आईएमईआई नम्बर भनिन्छ । आईएमईआई नम्बरको आधारमा नै कुनैपनि मोबाइलको पहिचान गरिन्छ । प्रत्येक मोबाइल नम्बरमा आवश्यकताअनुसार एउटादेखि ३ वटासम्म आईएमईआई नम्बर राखिएको हुन्छ । विशेषगरि मोबाइलमा कतिवटा सिम प्रयोग हुन्छ भन्ने आधारमा मोबाइलको आईएमईआई नम्बर राखिएको हुन्छ ।

कसरी थाहा पाउने मोबाइलमा आईएमईआई नम्बर ?

हरेक मोबाइलमा फरक फरक आईएमईआई नम्बर हुने गर्दछ । यस्तो नम्बर १५ वा १७ अंकको लामो हुन्छ । यो नम्बर धेरैजसो मोबाइलको ब्याट्री राख्ने स्थानको भित्र वा सिमकार्ड राख्ने स्थानको छेउमा लेखिएको हुन्छ । आजकल त यस्तो आईएमईआई नम्बर मोबाइलको बाहिरी बक्समा पनि स्पष्टसँग लेखिएको हुन्छ ।

तपाईँलाई पनि आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन मन लाग्यो भने तपाईँले आफ्नो मोबाइलमा स्टार-ह्यास ०६ ह्यास (*#06#) डायल गरेर मज्जाले थाहा पाउन सक्नुहुनेछ ।

easy care

प्रकाशित: १७ बैशाख २०७५, सोमबार

ताजा समाचार