Technology Khabar ६ श्रावण २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, ६ साउन । सामसंगले बर्लिनमा आयोजना हुने आईएफए ट्रेड शोमा यो वर्ष नयाँ ट्याबलेट र स्मार्टवाच सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । परम्परागतरुपमा बर्लिनमा आयोजना हुने आईएफए ट्रेड शोमा प्रत्येक वर्ष सामसंगले आफ्ना नयाँ डिभाइसहरु सार्वजनिक गर्ने गरेको छ ।
सामसंगले यसअघि नयाँ ग्यालेक्सी नोट फ्ल्यागशिपहरु सार्वजनिक गर्दै आएको थियो तर यो वर्ष कम्पनीले नोट सिरिजको ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) न्यूयोर्कमा अगस्ट २ तारिखमा सार्वजनिक गर्नेछ । त्यसैले यो वर्ष आईएफएका लागि नयाँ डिभाइसहरु आउने चर्चा रहेको छ ।
यो वर्ष बर्लिनमा हुने आईएफए २०१६ मा सामसंगले ग्यालेक्सी ट्याब एस थ्रीका (Galaxy Tab S3) साथमा गियर एस थ्री स्मार्टवाच (Gear S3 Smartwatch) सार्वजनिक गर्न लागेको विभिन्न जानकारीमा उल्लेख छ ।
ग्यालेक्सी ट्याब एस थ्री
ग्यालेक्सी एस थ्री ट्याब यसअघि सार्वजनिक भएको एस टू ट्याबको अपग्रेड भर्सन हो । यो प्रिमियम तहको ट्याब हो तर यसको स्पेशिफिकेशनको बारेमा अझै पनि स्पष्ट जानकारी आएको छैन् ।
तर पनि यो ट्याब ९.७ इन्च र ८ इन्चको संस्करणमा आउने अनुमान गरिएको छ । त्यस्तै यसमा अक्टा कोर स्न्यापड्रयागन ६५२ चीपसेट, ३ जीबी र्याम र ३२ जीबी स्टोरेज हुने बताईएको छ । यो ट्याबमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने एलटीई सपोर्ट गर्नेछ । एस थ्री ट्याब एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित हुने अनुमान गरिएको छ ।
गियर थ्री स्मार्टवाच
सामसंगले सार्वजनिक गर्ने अर्को डिभाइस गियर थ्री स्मार्टवाच परम्परागत घडिहरु जस्तै देखिने बताईएको छ । यसमा जीपीएस प्रविधि हुने इटालियन टेक्नोलोजी पत्रकार एन्टोनियो मोनाकोले उल्लेख गरेका छन् ।
यी डिभाइसहरुका बारेमा आगामी दिनमा थप जानकारी आउने नै छन् ।
एजेन्सीहरु
प्रकाशित: ६ श्रावण २०७३, बिहीबार