बेलायती दूरसंचार कम्पनी बीटी ग्रुपले म्यादभित्रै हटाउन सकेन ह्वावेका उपकरणहरू

Technology Khabar १९ पुष २०८०, बिहीबार

बेलायती दूरसंचार कम्पनी बीटी ग्रुपले म्यादभित्रै हटाउन सकेन ह्वावेका उपकरणहरू

काठमाडौं ।

बेलायती टेलिकम अपरेटर बीटी ग्रुपले आफ्नो कोर नेटवर्कबाट सबै ह्वावेका उपकरणहरू हटाउनको लागि बेलायत सरकारको म्याद गुमाएको ब्लूमबर्गले रिपोर्ट गरेको छ। कम्पनी अब सरकारी जरिवानाको जोखिममा रहेको छ।

यसअघिका रिपोर्टहरूले कम्पनीले जनवरीको म्याद पूरा गर्न संघर्ष गरिरहेको बताएको थियो।

उत्तरी अमेरिका र युरोपका केही देशहरूले महत्वपूर्ण पूर्वाधारहरूमा ह्वावेका उपकरणहरूको प्रयोगलाई निषेध गर्दै तिनीहरूलाई एक निश्चित समयसीमा भित्र हटाउने प्रयास गरिरहेका छन्।

बीटी ग्रुपसँग लगभग ५० प्रतिशतको बजार हिस्सा रहेको उल्लेख छ। तर, ह्वावेका कारणले गर्दा कम्पनी अहिले समस्यामा परेको छ।

सन् २०२० मा बेलायतले देशभित्रका दूरसंचार कम्पनीहरूलाई ह्वावे किटहरू हटाउन भनेर डिसेम्बर ३१, २०२३ को समयसीमा घोषणा गरेको थियो। यद्यपि, बीटीले भने समयसीमा पूरा गर्न नसकेको हो।

९९ प्रतिशत मोबाइल डाटा ट्राफिक कभर गर्ने ह्वावेको सबै फोरजी र फाईभजी डाटा इक्विपमेन्ट देशबाट पूर्णरूपमा हटाई सकेको कम्पनीले दाबी गरेको हुनाले यो वास्तवमा धेरै महत्त्वपूर्ण कुरा नभएको टेकराडारले आफ्नो पछिल्लो रिपोर्टमा उल्लेख गरेको छ।

यसका साथै बाँकी भएको एक प्रतिशतले टुजी र थ्रिजी कनेक्सनहरू मात्र ह्यान्डल गर्ने बताईएको छ।

बेलायतका प्रमुख मोबाइल नेटवर्क कम्पनीहरूले आफ्नो थ्रिजी नेटवर्कहरू सन् २०२४ देखि सन् २०२५ सम्ममा बन्द गर्ने तयारी गरेका छन्। यसैको आधारमा बीटीले जानाजानी यी नेटवर्कहरूको लागि पूर्वाधार स्तरवृद्धि नगर्ने छनोट गरेको हुनसक्ने जनाइएको छ।

साथै कम्पनीले केही वर्षभित्रै अप्रचलित हुने उपकरणहरूमा अर्बौं डलर खर्च गर्न नचाहेको पनि हुन सक्ने संभावना रहेको छ। त्यसको सट्टा सरकारले लगाउने जरिवाना तिर्नु धेरै सस्तो हुने अनुमान गरिएको छ।

easy care

प्रकाशित: १९ पुष २०८०, बिहीबार