टेरामोक्समा विश्लेषण नगरी हचुवाको भरमा लागत अनुमान, दूरसञ्चार प्राधिकरणलाई थप व्ययभार

Technology Khabar ३ बैशाख २०८०, आईतवार

टेरामोक्समा विश्लेषण नगरी हचुवाको भरमा लागत अनुमान, दूरसञ्चार प्राधिकरणलाई थप व्ययभार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न लागेको विवादास्पद टेरामोक्स सिस्टममा ढिलासुस्तिका कारण प्राधिकरणलाई व्ययभार बढेको देखिएको छ।

नियमनकारी निकाय प्राधिकरणले देशभित्र आउने र बाहिर जाने फोनकल इन्टरनेट ब्याण्डविथ मनिटर गर्नका लागि प्रयोगमा ल्याउन लागेको टेरामोक्स(वा टेरामोस) का लागि परामर्शदाताले लागत अनुमान तयार गर्दा लिएको आधारलाई विश्लेषण नगरी प्राधिकरणले लागत अनुमान स्वीकृत गरेको खुलासा भएको छ।

महालेखा परीक्षको कार्यालयले सार्वजनिक गरेको साठिऔं वार्षिक प्रतिवेदनमा आधार बेगर खरिद प्रक्रिया रद्द गर्दा खरिद कार्यमा ढिलाइ भई सेवा प्रवाहमा असर पर्नुका साथै विनिमयदरको फरकले प्राधिकरणको व्ययभार बढेको छ। यस सम्बन्धमा सम्बन्धित पदाधिकारी जवाफदेही हुनुपर्ने उल्लेख गरेको छ।

प्राधिकरणले मोबाइल, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको क्रियाकलापलाई अनुगमन नियमन तथा उपभोक्ताको हकहितको संरक्षणका लागि सेवा प्रदायकको कल ट्राफिक डिटेललाई मापन तथा अनुगमन गर्ने प्रणाली टेलिकम्यूनिकेशन ट्राफिक म्यानेजमेन्ट एण्ड एन्टी फ्रड सिस्टम (टेरामोक्स) खरिद कार्यको लागि परामर्शदाताले तयार गरेको अमेरिकी डलर ३ करोड २३ लाख ९० हजारको लागत अनुमानको आधारमा २०७४ असोज २० गते खरिद प्रक्रिया अघि बढाएको थियो।

आशय पत्रमा ७० अङ्कभन्दा बढी प्राप्त गर्ने ४ परामर्शदाताको सूची तयार गरी प्रस्ताव माग गरेकोमा आर्थिक तथा प्राविधिक मूल्याङ्कनमा उच्चतम अङ्क प्राप्त गर्ने एक आपूर्तिकर्ताले पेस गरेको अमेरिकी डलर २ करोड ३७ लाख ७० हजारको बोलपत्र छनोट भइसकेपछि आशय पत्रमा उत्तीर्णाङ्क ७० कायम गर्दा प्रतिस्पर्धा सीमित भएको जनाई २०७६ बैशाख २९ मा खरिद प्रक्रिया रद्द गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

सो सम्बन्धमा सर्वोच्च अदालतमा रिट परेकोमा खरिद प्रक्रिया रद्द गरेको विषय उत्प्रेषणको आदेशद्वारा बदर गरी बोलपत्र आह्वान भएबमोजिमको कानूनी प्रक्रिया पूरा गरी खरिद प्रक्रिया सम्पन्न गराउन २०७८ बैशाख १४ गते फैसला भएको थियो।

प्राधिकरणको आवश्यकताबमोजिमको नवीनतम प्रविधिको टेरामोक्स प्राप्त गर्न तयार भएको प्राविधिक प्रस्तावमा परामर्शदाता सहमत भई ६ महिना भित्र कार्यसम्पन्न गर्ने गरी २०७८ माघ २४ मा खरिद सम्झौता भएकोमा २०७९/८० मा उक्त उपकरण प्राप्त भए पनि जडान नभएको उल्लेख छ।

“परामर्शदाताले लागत अनुमान तयार गर्दा लिएको आधारलाई विश्लेषण नगरी प्राधिकरणले लागत अनुमान स्वीकृत गरेकोले लागत अनुमान यथार्थपरक देखिएन। आधार बेगर खरिद प्रक्रिया रद्द गर्दा खरिद कार्यमा ढिलाइ भई सेवा प्रवाहमा असर पर्नुका साथै विनिमयदरको फरकले प्राधिकरणको व्ययभार बढेको छ। यस सम्बन्धमा सम्बन्धित पदाधिकारी जवाफदेही हुनुपर्दछ,” प्रतिवेदनमा भनिएको छ।

शुरुवात देखि नै विवादमा रहेको टेरामोक्स प्रणाली अझै लागू हुन सकेको छैन् । नियामकले उक्त प्रणाली टेलिकम कम्पनीहरुको आन्तरिक सिस्टममा जोड्न भन्दै केहि महिना अघि नै पत्र पठाएको थियो। तर टेलिकम अपरेटरहरुले भने उक्त सिस्टमको डाटा सुरक्षाको बारेमा आशंका व्यक्त गरेका थिए।

easy care

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

ताजा समाचार