एमडीएमएस दर्ताः हाल प्रयोगमा रहेका कुनैपनि मोबाइल फोन बन्द वा ब्ल्याकलिस्ट नहुने

Technology Khabar १४ पुष २०७९, बिहीबार

एमडीएमएस दर्ताः हाल प्रयोगमा रहेका कुनैपनि मोबाइल फोन बन्द वा ब्ल्याकलिस्ट नहुने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्म प्रयोगमा आएका कुनैपनि मोबाइल फोन तत्कालै बन्द नहुने जानकारी दिएको छ।

प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पुस १५ गतेदेखि लागू गर्ने भनेसँगै उक्त सिस्टम र प्रकृया चर्चामा आएको छ।

हाल कतिपयले विरोध गरिरहेको उक्त एमडीएमएमस सिस्टममा दर्ता नभएपनि हाल प्रयोगमा रहेका कुनैपनि फोन बन्द वा लक नहुने बताईएको छ।

प्राधिकरण स्रोतले अहिलेसम्म प्रयोगमा रहेका कुनैपनि फोन बन्द नहुने बताएको छ। स्रोतकाअनुसार यी सबै फोनहरु सिस्टम भित्र आईसकेको हुँदा मोबाइल सेवाग्राहीलाई दु:ख र समस्या नदिईने दाबी गरेको छ।

“हामीले पुस १४ गतेसम्म प्रयोगमा आएका र सिस्टममा भएका सबै फोन दर्ता गर्नेछौं। तर पुस १५ गतेपछि अवैध आयात भएका वा चोरीछिपी आएका फोनहरुको दर्ता हुनेछैन् र त्यस्तो फोन मात्र समस्यामा पर्नेछन्,” स्रोतले टेक्नोलोजीखबरसँग भन्यो, “अहिले नै सबै फोन बन्द हुने भन्ने चर्चा अहिले गलत र आधा जानकारी मात्र मार्केटमा गएको हुँदा मानिसहरु अताल्लिएका हुन्।”

उनकाअनुसार अहिलेसम्म अवैध वा चोरीछिपी ल्याईएका फोनहरु पनि प्रयोगमा छन् भनेपनि त्यस्तालाई बन्द गरिनेछैन्। तर यसपछि ल्याईएका त्यस्ता फोनहरु दर्ता गर्नका लागि समस्या हुनेछ।

यसैबीच प्राधिकरणकै अर्का एक अधिकारीले एमडीएमएसको बारेमा जानकारी लिन आएका ग्राहकहरुलाई समेत तत्काल फोन बन्द नहुने जानकारी दिईरहेको बताए।

“भोलीदेखि नै सबै झ्याप्पै बन्द हुन्छ भन्ने होईन् । यसको लागि समय लाग्नेछ र अहिलेलाई कानूनअनुसार पनि १५ दिनको अवधि पाईन्छ,” उनले टेक्नोलोजीखबरसँग भने, “अहिले गलत हल्ला चलाएर दूरसञ्चार प्राधिकरणको बदनाम गरिएको छ।”

उनकाअनुसार अर्थ मन्त्रालय र भन्सारको नियम कानूनअनुसार व्यक्तिहरुलाई मोबाइल फोन ल्याउन कडाई गरिएको भएपनि दूरसञ्चार प्राधिकरणले अनावश्यक गाली खाईरहेको छ।

“अहिले हामीले गर्दै नगरेको कामको बारेमा गाली खाईरहेका छौं,” उनले भने, “अवैध फोनलाई बन्द गर्नुभन्दा पहिले दर्ता गर्न हरेक प्रयोगकर्तालाई नोटिस पठाउने छौं। त्यसपछि पनि दर्ता नभएमा बन्द गर्ने हो। सिधै ब्ल्याकलिस्टमा जाने होईन्।”

प्राधिकरण स्रोतकाअनुसार यस बारेमा पुस १५ गते सार्वजनिक सूचना जारी गरेर थप स्पष्ट पारिने छ।

उता प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म दर्ता नभएका तर प्रयोगमा रहेका मोबाइल सेवाग्राहीहरुलाई दर्ता गर्न अनुरोध गरिने बताए।

“हामीले १५ गतेपछि एमडीएमएसमा वा आईएमईआई दर्ता नभएका सेवाग्राहीहरुलाई एसएमएस मार्फत नोटिस दिनेछौं। त्यसपछि दर्ता गर्नुपर्नेछ र दर्ता नभएमा त्यस्ता फोनहरुलाई ग्रे लिस्टमा राखेर अनि ब्ल्याकलिस्ट गर्ने प्रकृयामा जाने हो,” उनले टेक्नोलोजीखबरसँग भने।

प्राधिकरणले एमडीएमएसको बारेमा पटक पटक जानकारी दिएर यस बारेमा सचेत गराउँदै आएको उनले बताए।

easy care

प्रकाशित: १४ पुष २०७९, बिहीबार

ताजा समाचार