मोबाइल ब्रोडब्याण्ड: थ्रीजीका घट्दै, फोरजीका बढ्दै

Technology Khabar १३ बैशाख २०७९, मंगलवार

मोबाइल ब्रोडब्याण्ड: थ्रीजीका घट्दै, फोरजीका बढ्दै

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या माघ मसान्तसम्म २ करोड ८४ लाख ७९ हजार ५८३ पुगेको छ।

यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको माघ महिनाको तथ्यांकअनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो महिनाको तुलनामा १० लाख ९९१ बढेको हो।

अघिल्लो महिना अर्थात्  पुष मसान्तसम्म उक्त सङ्ख्या २ करोड ७४ लाख ७८ हजार ५९२ रहेको थियो।

माघ महिनाको समग्र २ करोड ८४ लाख ७९ हजार ५८३ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ९४ लाख ४० हजार २२० रहेको छ।

यो सङ्ख्यामा थ्रीजीका प्रयोगकर्ता ९९ लाख ९५ हजार २१८ तथा फोरजीका ९३ लाख ८ हजार ४२९ का साथै ईभीडीओका १ लाख ३६ हजार ५७३ समावेश छन्।

तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता ८५ लाख ६ हजार ९४४ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता १९ लाख ५७ हजार २५६ तथा फोरजीका ६५ लाख ४९ हजार ६८८ रहेका छन्।

यस्तै स्मार्ट टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ लाख ६१ हजार १२३ रहेको छ। स्मार्ट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ।

फोरजी: टेलिकम र एनसेल दुवैले थपे, स्मार्टले गुमायो

माघ महिनाभरिमा नेपाल टेलिकम र एनसेलले फोरजी सेवा लिने ग्राहक थपेका छन् भने स्मार्ट टेलिकमले गुमाएको छ।

फोरजीका हकमा १ महिनामा नेपाल टेलिकमले २५ लाख ३८ हजार १०४ ग्राहक थपेको छ भने एनसेलले ४ लाख २६ हजार ५९२ ग्राहक थपेको छ‍।  स्मार्ट टेलिकमले भने यो अवधिमा ३ हजार ७२५ ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ।

थ्रीजी: टेलिकमका ४१ हजार र एनसेलका १ लाख ४३ हजार ग्राहक घटे

माघ महिनाभरिमा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या पुष महिनाको तुलनामा ४१ हजार ४४१ ग्राहक गुमाएको छ। सोही अवधिमा एनसेलले पनि आफ्ना थ्रीजीका १ लाख ४३ हजार ३३० ग्राहक गुमाएको छ।

पुष मसान्तसम्म नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता १ करोड ३६ हजार ५९ रहेकामा माघ मसान्तमा आइपुग्दा घटेर ९९ लाख ९५ हजार २१८ मा झरेका प्रतिवेदनमा उल्लेख छ।

यसैगरी एनसेलका थ्रीजी ग्राहक प‍ुष मसान्तसम्म २१ लाख ५८६ रहेकामा माघ मसान्तसम्म आइपुग्दा घटेर १९ लाख ९७ हजार २५६ मा झरेको छ।

easy care

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार