सूचना प्रविधिमार्फत कृषि व्यवसायलाई सहज बनाउने डिभाइस सार्वजनिक

Technology Khabar १४ चैत्र २०७८, सोमबार

सूचना प्रविधिमार्फत कृषि व्यवसायलाई सहज बनाउने डिभाइस सार्वजनिक

काठमाडौं ।

नेपालका किसानहरूले खेतीपातीका क्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स –एआई) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने नेपालकै पहिलो एआईमा आधारित डिभाइस ‘साथी’ सार्वजनिक गरिएको छ।

महिला विकास समाज (विमेन डेभलप्मेण्ट सोसाइटी–वोडेस) अन्तर्गत सक्रिय महिला प्राविधिज्ञहरूको समूह ‘इम्प्याक्टर्स’ ले सूचना प्रविधि विज्ञ लचना हाडाको सुपरिवेक्षणमा उक्त डिभाइस तयार गरिएको बताईएको छ।

नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्नमा तथा सामान्य किसानलाई पनि सूचना प्रविधिको लाभ उपलब्ध गराउनमा एआईको यो नवीनतम प्रयोग उपयोगी हुने विश्वास गरिएको छ।

इम्प्याक्टर्सकाअनुसार ‘साथी’ डिभाइसले नेपाली किसानलाई आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा पाउन लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य गर्दै स्थलगत रूपमै तत्कालै त्यससम्बन्धी जानकारी प्रदान गर्नेछ।

यस डिभाइसको प्रयोगबाट खेतको माटोको गुणस्तर पहिचान गर्न सकिने भएकोले कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने छनोट गर्न किसानलाई सक्षम बनाउँछ। यसले बालीनालीको स्वास्थ्य सुपरिवेक्षण गर्न पनि सहयोग गर्ने हुँदा समयमै उपयुक्त उपचारका लागि पहल गर्न पनि सजग गराउँदछ।

हाल एण्ड्रोइडमा उपलब्ध यस एप छिट्टै आईओएसमा पनि उपलब्ध गराइने जानकारी दिएको छ।

कृषिसम्बन्धी जटिल विश्लेषण गर्नसक्ने सेन्सरसहितको प्रोटोटाइपले माटो तथा बालीनालीसम्बन्धी तथ्याङ्क सङ्कलन गर्दछ। ल्यापटप वा मोबाइलमा राखिने ‘साथी’को सफ्टवेयरले उक्त तथ्याङ्कलाई विश्लेषण गरी माटोको लवणता, तापक्रम, आर्द्रता, नाइट्रोजन, फोस्फरस, पोटासियम र
अम्लताको अवस्थाबारे जानकारी प्रदान गर्दछ।

यसैगरी उक्त सफ्टवेयरले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान पनि गर्न सक्ने दाबी गरिएको छ।

easy care

प्रकाशित: १४ चैत्र २०७८, सोमबार