नास्टको ब्रेन पुलिङ्ग नेपाल कार्यक्रम, अनुसन्धान गर्न वैज्ञानिक/प्राविधिज्ञहरुबाट प्रस्ताव माग

Technology Khabar ११ फाल्गुन २०७८, बुधबार

नास्टको ब्रेन पुलिङ्ग नेपाल कार्यक्रम, अनुसन्धान गर्न वैज्ञानिक/प्राविधिज्ञहरुबाट प्रस्ताव माग

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले “ब्रेन पुलिङ्ग नेपाल कार्यक्रम” अन्तर्गत रहेर योगदान पुर्याउन इच्छुक वैज्ञानिक/प्राविधिज्ञहरुबाट अनुसन्धान प्रस्ताव माग गरेको छ।

प्रतिष्ठानले इच्छुक वैज्ञानिक/प्राविधिज्ञहरुलाई बढीमा एक वर्षको अवधि भित्र सम्पन्न हुने नतिजामूलक अनुसन्धान प्रस्ताव पेस गर्न आव्हान गरेको हो।

जसअनुसार अनुसन्धान प्रस्ताव पेश गर्दा नास्टको प्रयोगशालामा रहेर अनुसन्धान गर्ने वा अन्य वैज्ञानिक निकायमा रहेर अनुसन्धान गर्ने हो सो स्पष्ट खुलाई अनुसन्धान प्रस्ताव पेश गर्नु पर्नेछ।

त्यसैगरी नास्टमा रहेर कार्य गर्ने वैज्ञानिक वा प्राविधिलाई प्रस्ताव स्वीकृत भए अनुसार वृत्ति प्रदान गरी अनुसन्धान कार्यमा संलग्न गराइनेछ भने अन्य निकायमा रहेर अनुसन्धान गर्ने स्वीकृत प्रस्तावलाई कार्यविधि अनुसार अनुदान उपलब्ध गराइने जनाएको छ।

अनुसन्धान गर्न चाहने वैज्ञानिक/प्राविधिज्ञहरुले ३० दिन भित्र आफ्नो प्रस्ताव नाष्टको ईमेल [email protected] मा पठाउन भनिएको छ।

इमिनेन्ट फेलो र एसोसिएट फेलो

यसैगरी नास्टले स्वदेश वा विदेशमा कार्यरत नेपाली नागरिक वा गैरआवासीय नेपालीले विज्ञान तथा प्रविधिको क्षेत्रमा हासिल गरेको सफलता र कार्य अनुभवको आधार तथा नास्टसँगको सहकार्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा पुर्याउन सक्ने योगदानदेखि प्रविधि हस्तान्तरणसम्मको कार्य गर्न इच्छुकहरुलाई नास्ट इमिनेन्ट फेलोबाट सम्मान गर्ने भएको छ।

यसका साथै ४० वर्ष उमेर ननाघेका विज्ञान तथा प्रविधिको क्षेत्रमा हासिल गरेको सफलता तथा नास्टसँगको सहकार्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउन इच्छुक वैज्ञानिक/प्राविधिज्ञलाई नास्ट एसोसिएट फेलोमा आवद्धता गरिने भएको छ।

यसको लागि समेत सम्बन्धित क्षेत्रमा हासिल गरेको उपलब्धी र अब पुर्याउन सक्ने योगदान खुल्ने गरी आशय–पत्र र वैयक्तिक विवरण ३० दिन ईमेल [email protected] मार्फत पेश गर्न आव्हान गरिएको छ।

easy care

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार