मंगल ग्रहमा पार्श्व ध्वनिका माध्यमबाट सतहभित्रका तहहरुको अध्ययन गर्दै वैज्ञानिकहरु

Technology Khabar १३ मंसिर २०७८, सोमबार

मंगल ग्रहमा पार्श्व ध्वनिका माध्यमबाट सतहभित्रका तहहरुको अध्ययन गर्दै वैज्ञानिकहरु

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासाका वैज्ञानिकहरुले पार्श्वध्वनिका माध्यमबाट ग्रहको भित्री तह कस्तो छ भन्ने अध्ययन गरिरहेका छन्।

नासाको मार्स इन्साइट ल्यान्डरले अनुसन्धाताहरुलाई उक्त ग्रहका बारेमा अध्ययनका लागि आवश्यक क्रस्ट, म्यान्टल र कोरका बारेमा जानकारी उपलब्ध गराएको छ।

तर उक्त जानकारीमा मंगल ग्रहको सतहनजिक के कस्तो बनावट र अवस्था छ भन्नेबारेमा केही विस्तृत तथ्य खुलाइएको छैन।

यो जानकारी उक्त ग्रह कसरी बनेको छ भन्ने बारेमा बुझ्नका लागि पर्याप्त थिएन। यसै क्रममा हालै वैज्ञानिकहरुको एउटा टोलीले पहिलो विस्तृत रुपरेखा तयार पार्न सक्षम भएको छ जसबाट उक्त ग्रहको सतहभन्दा ठिक मुनि के कस्तो बनावट रहेको छ भन्ने बारेमा जानकारी लिन सकिन्छ।

यो रुपरेखा तयार पार्नका लागि वैज्ञानिकको टोलीले मंगल ग्रहमा चल्ने हावाको आवाज सुनेर त्यहाँ ३ अर्ब वर्षदेखि भएका विकासक्रमका बारेमा जानकारी संकलन गर्ने प्रयास गरेका थिए।

उनीहरुले मंगल ग्रहको सतहमा इन्साइट ल्यान्डरको सहायताले सिस्मोमिटर जडान गरेर त्यसमार्फत् सिर्जना भएको पार्श्वध्वनिको विश्लेषण गरेर जानकारी संकलन गरेका हुन्।

पृथ्वीमा भने यस्तो भूकम्पीय पार्श्व ध्वनि समुद्र, मानवीय गतिविधि तथा हावाका माध्यमबाट पैदा हुने भए पनि मंगल ग्रहमा भने हावामात्र उपलब्ध भएकाले त्यसैको आधारमा अध्ययन गरिएको बुझिएको छ।

स्विस सिस्मोलोजिकल सर्भिस (एसईडी) तथा ईटीएच जुरिचको टोलीले मार्सक्वेक (मंगल ग्रहमा आएको कम्पन) सर्भिस अन्तर्गत रहेर निरन्तर रुपमा यी तथ्याङ्कहरुको अध्ययन गरिरहेका छन्।

एसईडीले यसअघि यस्तै पार्शध्वनिको अध्ययनमार्फत् पृथ्वीको भैगर्भिक बनोटका बारेमा व्याख्या गर्न सफल भएको थियो। त्यसै तरिकालाई हाल मार्स इन्साइटबाट आएको तथ्याङ्क विश्लेषणका लागि प्रयोग गरिन लागेको हो।

उक्त तथ्याङ्क अनुसार इन्साइट अवतरण गरेको क्षेत्रबाट ३ मिटर परसम्म बालुवाले बनेको पाइएको छ भने अरु २० मिटरमा भने उल्कापिन्डद्वारा प्रभावित ज्वालामुखी चट्टान रहेको खुलेको छ।

यसैगरी यी बालुवा र चट्टानको ठिक मुनि लाभा बगेका र चिसोका कारण जमेका लाभाका कुलेसाहरु भेटिएका छन्। अनुसन्धाताहरुले माथिल्लो तह १.७ अर्ब वर्षअघि तथा सबैभन्दा मुनिको भाग ३.६ अर्ब वर्षअघि बनेको आकलन गरेका छन्।

easy care

प्रकाशित: १३ मंसिर २०७८, सोमबार