बिटक्वाइन कारोबार विरुद्धको मुद्दामा अदालतद्धारा ५ जना दोषी ठहर, पाँच जनाले पाए सफाइ

Technology Khabar ३० भाद्र २०७८, बुधबार

बिटक्वाइन कारोबार विरुद्धको मुद्दामा अदालतद्धारा ५ जना दोषी ठहर, पाँच जनाले पाए सफाइ

काठमाडौं ।

करिब ४ अघिको बिटक्वाइन कारोबार प्रकरणमा दायर भएको मुद्दामा काठमाडौं अदालतले आरोपितहरु मध्येका ५ जनालाई दोषी ठहर गरेको छ।

प्रहरी नायव उपरिक्षक श्याम बाबु ओलिया समेतको प्रतिवेदन जाहेरीले नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुर (बिटक्वाइन कारोबार) मा १० जनाविरुद्ध २०७४ कात्तिक १२ गते मुद्दा दायर भएकोमा ५ जना दोषी ठहर भएका छन् भने बाँकी ५ जनाले सफाइ पाएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले बुधबार सो मुद्दामा आरोपितहरुमध्येका दमन बस्नेत, मिङमार तामाङ, संजय खनाल, विश्वविक्रम राई र सौगातकुमार बस्नेतलाई सफाई दिएको हो।

इजलासले उनीहरुले दाबी बमोजिमको कसुर गरेको पुष्टि नभएको भन्दै सफाइ दिएको हो।

तर अन्य प्रतिवादीहरु प्रशान्त प्रताप शाह, बिन्दु भन्ने बिन्दा ढकाल, जीपी भन्ने ज्ञानप्रसाद पौडेल, मनिषकुमार गिरी र माधव खनाललाई भने नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ बमोजिमको कसुर गरेको ठहर इजलासले गरेको छ।

निर्णयअनुसार राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ बमोजिम कसुर गर्ने प्रतिवादीहरुलाई सोही ऐनको दफा ९६ ९१० मा उल्लेखित कानुनी व्यवस्थामा सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने देखिएको छ।

इजलासले उनीहरुको विषयमा कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्न समेत आदेश दिएको हो ।

यस्तो सजाय गर्दा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम छुट्टै सुनुवाई गर्नुपर्ने भन्दै इजलासले यसका लागि सोही ऐनको दफा १२ बमोजिमको प्रतिवेदन ७ दिनभित्र पेस गर्न र वादी तथा प्रतिवादीका कानुन व्यवसायीलाई सूचना दिई सजाय निर्धारणका लागि नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ।

राष्ट्र बैंकले २०७४ साउन २९ गते बिटक्वाइन कारोबार गैरकानूनी रहेको बारे सूचना सार्वजनिक गरेको थियो। जसमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा बिटक्वाइनलाई मुद्राको रुपमा कानूनी मान्यताप्राप्त नभएकाले बिटक्वाइनसम्बन्धी कारोबार नेपालमा पूर्ण रुपमा गैरकानूनी रहेको उल्लेख थियो। जसअनुसार कसैले पनि कारोबार नगर्न र नगराउन भनिएको थियो । सोही सूचनाको आधारमा प्रहरीले देशभर बिटक्वाइन कारोबार गर्नेहरुलाई पक्राउ गरेको थियो ।

जसमा नेपाल प्रहरीको सिआइबीले २०७४ असोज १८ र १९ गते पहिलोपटक काठमाडौं र चितवनमा एकैपटक बिटक्वाइन विरुद्ध अपरेशन गरेर ७ जनालाई पक्राउ गरेको थियो।

तत्कालिनरुपमा पक्राउ परेका र हाल दोषी ठहर भएका मध्येका शाहले दोलखाको तामाकोसी गाउँपालिका-५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घर भाडामा लिई बिटक्वाइन माइनिङको काम गर्ने गरेको खुलेपछि असोज ६ गते छापा मारेर प्रहरीले ठूलो मात्रामा सामानहरु बरामद गरेको थियो।

शाहसहित विभिन्न मितिमा पक्राउ परेकामध्ये १० जनाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा प्रहरीले मुद्दा दायर गरेको थियो । सोही मुद्दामा बुधबार निर्णय आएको हो ।

स्मरणरहोस् केहि दिनअघि मात्रै नेपाल राष्ट्र बैंकले अर्को सुचना जारी गरेर नेपालमा बिटक्वाइनसहितका कुनैपनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार अवैध रहेको उल्लेख गरेको छ । जसअनुसार कारोबार प्रयोग र माइनिङ्गमा प्रतिबन्ध लगाएको छ ।

हेर्नुस् समाचार-

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

easy care

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार