राष्ट्रिय जनगणनाका लागि स्मार्ट गणना प्रविधि उपयोग गरिने, विभागको सर्भरमा सिधै डाटा भण्डारण

Technology Khabar २७ भाद्र २०७८, आईतवार

राष्ट्रिय जनगणनाका लागि स्मार्ट गणना प्रविधि उपयोग गरिने, विभागको सर्भरमा सिधै डाटा भण्डारण

काठमाडौं ।

केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ तीन विधिको प्रयोग गरी १५ दिनभित्र सम्पन्न गर्ने जनाएको छ। पहिलो पटक विभागले काठमाडौं जिल्लामा पेपरलेस अर्थात स्मार्ट गणना शुरु गर्ने भएको छ।

तथ्याङक विभागले घरदैलोमै पुगेर गणना गर्दा तीन विधि अपनाउने भएको विभागका तथ्याङक शाखा प्रमुख डुण्डीराज लामिछानेले जानकारी दिए । देशका अन्य भाग इन्टरनेटको पहुँच नभएका क्षेत्रमा कागजबाट प्रश्न गरेर, विदेशमा रहेका कर्मचारीहरुको हकमा इन्टरनेटको सहयोगबाट (इसेन्सस्) र काठमाडौं जिल्लामा ट्यावलेटको सहयोगमा सिधै विभागको सर्वरमा डाटा पुग्ने गरी गणना गरिने उनले बताए ।

कात्तिक २५ गतेदेखि मंङ्सिर ९ गतेसम्म फिल्डमा पुगेर गणना सक्नेगरी मंगलबार नै विभागले कार्यतालिका सार्वजनिक गरेको छ ।

काठमाडौं जिल्लामा स्मार्ट गणना गर्नका लागि विभागले २२ सय वटा ट्यावलेट खरिद गरी सुपरभाइजर र गणकलाई दिने तयारी गरेको छ। कागजी फर्म विनै सिधै इन्टरनेटबाट विदेशस्थित कुटनीतिक कार्यालय लगायतको काम गर्ने र कर्मचारीको तथ्याङक लिइने भएको छ। यो विभागले गरेको पहिलो अभ्यास भएको बताइएको छ।

सुपरभाइजरलाई भदौ २७ र २८ गते तालिम दिएर ३० गतेदेखि फिल्डमा खटाउने निर्णय गरेको छ। गणकलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिएर २५ देखि मंसिर ९ गते सम्म फिल्डमा खटाएर देशैभर एकै पटक गणना सम्पन्न गर्ने केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । तीन करोड जनसंख्याको गणना १५ दिनमा सक्नेगरी ३९ हजार गणक, आठ हजार सुपरिवेक्षक खटाउने उनले जानकारी दिए।

गणकहरु ७० लाख परिवारमा एकै पटक पुग्नेछन् ।

प्रत्येक व्यक्तिको गणना गर्नुपर्ने र हरेक व्यक्तिको घरदैलोमा पुग्नुपर्ने भएकाले काम चुनौतिपूर्ण रहेको विभागले जनाएको छ। सातवटै प्रदेशका जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र ७५३ स्थानीय तहका लागि ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेर काम सम्पन्न गर्ने तयारी विभागको छ।

गणकहरुलाई दुई डोज नै कोरोना विरुद्धको भ्याक्सिन लगाएर मात्र गणनामा पठाउने राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले बताए । गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने समेत उनले बताए।

विभागले यसअघि तय गरेको समय जेठ २५ देखि असार ८ गतेसम्म भएपनि कोरोना महामारीकाकारण गणना हुन सकेको थिएन । केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको थियो । बिसं १९६८ मा श्री ३ चन्द्र शमशेर जबराको पालाबाट शुरु गरिएको राष्ट्रिय जनगणना प्रत्येक दश वर्षमा गरिन्छ । यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना हुन लागेको हो । गोरखापत्रअनलाइन

easy care

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

ताजा समाचार