गुगलमाथि डिजिटल विज्ञापन सम्बन्धमा अमेरिकी न्याय विभागले मुद्दा हाल्न सक्ने

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

गुगलमाथि डिजिटल विज्ञापन सम्बन्धमा अमेरिकी न्याय विभागले मुद्दा हाल्न सक्ने

काठमाडौं ।

अमेरिकी न्याय विभागले गुगलमाथि डिजिटल विज्ञापन सम्बन्धमा मुद्दा हाल्न सक्ने बुझिएको छ।

केही समययता विश्वका विभिन्न देशमा गुगल, फेसबुक तथा ट्विटरजस्ता ठूला सामाजिक सञ्जालमाथि विभिन्न विषयमा आधारित भएर सोधपूछ तथा कतिपय अवस्थामा मुद्दा नै हाल्ने चलन बढिरहेको छ।

केही समयअघि ह्वाट्सएपको गोपनीयत नीतिलाई लिएर भारत लगायतका कतिपय देशमा मुद्दा नै हालिएको थियो।

यसै सन्दर्भमा टेक जायन्ट गुगलले अमेरिकामा यस्तै स्थिति सामना गर्नुपर्ने हुन लागेको बुझिएको छ।

अमेरिकाको न्याय विभागले गुगलमाथि एकाधिकार सम्बन्धमा दोस्रो मुद्दा हाल्न लागेको हो। यसपटक भने विभागले गुगलको डिजिटल विज्ञापनमाथिको एकाधिकार र प्रतिस्पर्धाविरोधी कदमको विरुद्धमा मुद्दा दायर गर्ने भएको ब्लूमबर्गले लेखेको छ।

ब्लूमबर्गको प्रश्नको जवाफ इमेलमार्फत् पठाउँदै गुगलले आफ्नो विज्ञापन प्रविधिले वेबसाइट तथा एपहरुलाई आफ्ना सामग्रीका लागि आर्थिक स्रोत जुटाउन मद्दत पुगेको, साना व्यवसायले प्रगति गरेको तथा यूजरलाई उनीहरुको गोपनीयताको असुरक्षा तथा नराम्रो विज्ञापनको अनुभवबाट बचाएको उल्लेख गरेको छ।

गत वर्षको अक्टोबरमा न्याय विभागले गुगललाई आफ्नो बजारमाथिको पकडलाई अवैधरुपमा प्रयोग गर्दै प्रतिस्पर्धीहरुलाई पाखा लगाउन खोजेको भन्दै मुद्दा हालेको थियो। त्यसको सुनुवाइ सन् २०२३ को सेप्टेम्बरका लागि तय भएको छ।

न्याय विभागबाहेक पनि गुगलमाथि अमेरिकाका अन्य ३८ ओटा राज्यले बजार पकडको दुरुपयोग गरेर कार, टीभी तथा स्पीकरमा पनि स्मार्टफोनमा झैं सर्च इन्जिल राख्न लागेको भन्दै मुद्दा दायर गरेका छन्।

न्याय विभागले यसबाहेक गुगले आफ्नो क्रोम ब्राउजरमा केही कूकिजमाथि प्रतिबन्ध लगाएकोमा चिन्ता पनि व्यक्त गरेको छ।

easy care

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

ताजा समाचार