यी हुन् भन्सार र अन्तःशुल्क छुट भएका घरायसी विद्युतीय उपकरणहरु

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

यी हुन् भन्सार र अन्तःशुल्क छुट भएका घरायसी विद्युतीय उपकरणहरु

काठमाडौं ।

सरकारले बजेटमार्फत विभिन्न घरायसी विद्युतीय उपकरणहरुको भन्सार दर घटाएको छ । यसले आगामी दिनमा बजारमा घरायसी विद्युतीय उपकरणहरुको मूल्य सस्तिने र ग्राहकहरुले सहुलियतरुपमा किन्न सक्ने अवस्था आउने भएको छ ।

देशभित्र बढिहरेको विद्युतको उत्पादनलाई आन्तरिकरुपमा खपत बढाउन भन्दै सरकारले आयातित विद्युतीय उपकरणमा अन्तःशुल्क खारेजका साथै भन्सार महसुलपनि छुट गर्ने घोषणा गरेको हो ।

बजेटकाअनुसार वासिङ मेसिन र भाँडा माझ्ने डिसवासर मेसिनमा यसअघि ५ प्रतिशत अन्तःशुल्क र ३० प्रतिशत भन्सार महसुल तोकिएको थियो । अब भने बजेटमार्फत अन्तःशुल्क खारेज गर्दै सरकारले यस्ता वस्तुको भन्सार दर २० प्रतिशतमा झारेको छ ।

त्यसैगरि हरेक जसाे घरमा प्रयोग हुने रेफ्रिजेरेटर अर्थात फ्रिजको अन्तःशुल्क २० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरिएको छ ।

सरकारले राइस कुकर, विद्युतीय केट्ली, जगजस्ता पानी तताउने भाडा र किरा मार्ने ट्रयापको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । माइक्रोवेब ओभन, हेयर ड्रायर, टोस्टर, इलेक्ट्रोथर्मिक कफी र चिया बनाउने मेसिन, कोठा तताउने हिटर, इमर्सन हिटर, स्टोरेज हिटिङ रेडियटर र पानी तताउने हिटरको भन्सार दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको छ ।

आइरन, हात सुकाउने ड्रायर मेसिन, फुड ग्राइन्डर र मिक्चर्सको भन्सार दर पनि १० प्रतिशत कायम गरिएकोछ भने इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर ५ बाट १ प्रतिशमा झारिएको छ ।

सार्वजनिक बजेट सम्बन्धमा अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव शिशिरकुमार ढुंगानाले बिद्युतको खपत आन्तरिक रुपमै बढाउन विद्युतीय उपकरणको भन्सार महसुल दरमा परिवर्तन गरिएको बताए । ‘नेपालमा उत्पादित विद्युत कन्जम्पसन गर्न खोजेका हौं र यसबाट आयात प्रतिस्थापन गर्छ भन्ने उद्धेश्य लिएका हौं,’ उनले भने ।

उनले नयाँ करहरु नलगाईएको समेत स्पष्ट पारेका हुन् ।

राजस्व सचिव रामशरण पुडासैनीले अर्थतन्त्रलाई पुनरुत्थान गर्न छुट दिएको तर आयातकर्तालाई लक्ष्य गरेर छुट नदिएको बताए । ‘ईकोनोमीलाई रिभाइभ गर्ने हाम्रो उद्धेश्य हो त्यस अनुसार करका दरहरु सामान्य समायोजन गरिएको हो, नयाँ कर लगाइएको छैन्,’ उनले भने ।

भन्सार शुल्क अन्तशुल्क लगायतका करका दरहरु हिजैदेखि लागू भएका छन् ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार