वैदेशिक रोजगार बोर्डद्धारा साढे तीन सयलाई अनलाइनबाट भुक्तानी

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

वैदेशिक रोजगार बोर्डद्धारा साढे तीन सयलाई अनलाइनबाट भुक्तानी

काठमाडौं ।

वैदेशिक रोजगार बोर्डले कल्याणकारी कोषको राहत रकम दाबी गर्ने ३५० सेवाग्राहीलाई अनलाइनबाट भुक्तानी दिएको छ ।

विशेषगरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका आफन्त र अङ्गभङ्ग भएर फर्केका श्रमिक, बिरामी र मृतक श्रमिकका छोराछोरीलाई दिने छात्रवृत्तिसमेत गरी त्यो सङ्ख्यालाई राहत बापतको रकम अनलाइनबाटै भुक्तानी गरेको हो ।

गत कात्तिकदेखि बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको थियो तर पनि रकम दाबीका लागि सेवाग्राही काठमाडौँमै आउने गरेकामा तीन/चार महिनायता भने अनलाइनबाट मात्रै भुक्तानी हुन थालेको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अनलाइनबाट भुक्तानीको व्यवस्था भएसँगै पीडितलाई राहत रकमका लागि पटकपटक राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य र यसले धेरै राहत भएको बताए ।

‘अधिकांश सेवाग्राही रकम दाबीका लागि बोर्डको सचिवालयमा आउँदा आवश्यक पर्ने पूरा कागजात नलिई आउँदा दुई/तीन पटक आवतजावतको खर्च, होटलमा बस्नुपर्नेलगायतका समस्या थिए । यस अर्थमा पनि अनलाइन भुक्तानीले धेरै राहत भएको छ,’ उनले थपे ।

सेवाग्राहीले सजिलै सेवा लिन सकून् र बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गर्न व्यवस्था गरिएको उनको भनाइ छ ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोबार गर्न अनुमति प्राप्त ई–सेवा, फोन पे प्रालि र स्प्यारो पे प्रालिमार्फत सरल र सहज रूपमा कोषको रकम भुक्तानी गरिएको छ ।

भुक्तानी सेवा प्रदायकबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने पनि बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले पनि जानकारी दिए ।

पछिल्लो समय आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धितको बैङ्क खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार