Technology Khabar १४ पुष २०७९, बिहीबार
काठमाडौं ।
पश्चिम सुर्खेतको भेरी नदी किनारका दुई पालिकाका करिब चौबीस सय घरधुरी पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घरधुरीले भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।
सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो। एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो।
वराहताल गाउँपालिका–२ को पाग्म र वडा नं. ४ को तरङ्गा तथा पञ्चपुरी नगरपालिका–९, जामु र वडा नं. ११ कुइनेमा पूर्वसूचना प्रणालीका लागि आवश्यक साइरनसहितको उपकरण पनि जडान गरिएको छ। त्यहाँ करिब सात लाख रुपियाँको उपकरण जडान गरिएको हो।
परियोजनाका व्यवस्थापक बिना खड्काका अनुसार यो प्रणालीले वर्षायाममा सर्वसाधारणलाई वर्षा र बाढी आउनुपूर्व सन्देश दिएर नदी किनारका बस्तीका बासिन्दालाई सचेत गराउनेछ।
उनले २०७१ सालमा उक्त स्थानमा वर्षा र बाढीले धनजनको निकै क्षति गरेको हुँदा सोही स्थानलाई केन्द्रबिन्दु मानेर पूर्वसूचना प्रणाली परियोजना लागू गरिएको जानकारी दिईन्। उनका अनुसार यो प्रणालीको उपकरणले बाढी र पानी आउनुभन्दा दुई घण्टाअघि नै सचेत गराउने गरेको छ। उनका अनुसार सूचना प्रणालीले दुई घण्टाअघि दिएको बाढीसम्बन्धी दिएको सूचनाको आधारमा स्थानीय सुरक्षित स्थानमा जान सक्छन्।
यसले जनधनको क्षति कम गर्छ। बाढी वा ठूलो पानी आउनासाथ सतह पार गरेमा उपकरणले सुरक्षित स्थानमा जानु होला भनी साइरन बजाउने गर्दछ।
वराहताल गाउँपालिका–२ पाग्मका चन्द्रा घर्तीमगरले उक्त उपकरणले गत असोजमा आएको बेमौसमी वर्षाबाट बच्न सहयोग मिलेको बताईन्। उनले बाढीले खतराको चिह्न पार गर्नासाथ साइरन बजेको र त्यसपछि सबै बासिन्दा सुरक्षित स्थानमा गएकाले धनजनको क्षति हुनबाट बचेको जानकारी दिईन्।
जल तथा मौसम कार्यालय कोहलपुरका प्रमुख राम विकेस रायले पूर्वसूचना प्रणालीले बाढीबाट हुन सक्ने क्षतिबाट बचाउन सहयोग पुग्ने बताए।
उनले वराहतालको पाग्म र पञ्चपुरीको जामुबीच पनि उपकरण जडान गर्न सके झन् छिटो खबर आदानप्रदान हुने जानकारी दिए। उनले बाढीभन्दा पहिला पानी पर्ने सम्भावनाको खबर गर्नुपर्ने सुझाव दिए।
सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले पूर्वसूचना प्रणाली भेरी नदी किनारका बस्तीका लागि निकै उपयोगी साबित हुने बताए। विशेष गरी वर्षा मौसममा यो प्रणालीको भूमिका निकै ठूलो भएको उनको भनाइ छ। गोरखापत्रबाट
प्रकाशित: १४ पुष २०७९, बिहीबार