सेवा शुरु नै नभएपनि नेपाल टेलिकमको सहायक कम्पनीले गर्यो आम्दानी

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

सेवा शुरु नै नभएपनि नेपाल टेलिकमको सहायक कम्पनीले गर्यो आम्दानी

काठमाडौं ।

नेपाल टेलिकमको सहायक कम्पनीले सेवा नै शुरु नगरेपनि आम्दानी गर्न थालेको छ । नेपाल टेलिकमको मोबाइल भुक्तानी सेवा ‘नमस्ते पे’ दिनको लागि स्थापना गरेको नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले पहिलो पटक आम्दानी गरेकोसहितको वित्तीय बिबरण सार्वजनिक भएको छ ।

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो र आफू मातहतको सहायक कम्पनीको आर्थिक वर्ष २०७७।७८ को तेस्रो त्रैमासको संयुक्त वित्तीय विवरणहरु बिहिबार सार्वजनिक गरेको छ ।

पहिलो पटक कम्पनीले ग्रुपकै वित्तीय बिबरणहरु सार्वजनिक गरेको छ जसमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको समेत आम्दानी तथा खर्चहरु देखाईएको छ ।

वित्तीय बिबरणअनुसार सहायक कम्पनीले सेवा नै नदिएपनि चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ४६ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ।

सहायक कम्पनीले अन्य शिर्षकमा आम्दानी बढाएको देखिएकोछ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सहायक कम्पनीको वित्तीय बिबरणहरु समेत प्रकाशित गरिएको र केहि आम्दानी गरेको बताए ।

‘हाम्रा अडिटरहरुले टेलिकम र सहायक कम्पनीकै वित्तीय बिबरणहरु सार्वजनिक गर्नुपर्ने बताएअनुसार नै कम्पनी र ग्रुपको फरक/फरक देखिने गरि बिबरणहरु प्रकाशित गरिएको छ। अब आगामी दिनमा यसरी नै प्रकाशित हुनेछ,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

सहायक कम्पनीको सेवाहरु शुरु नगरेपनि कम्पनी स्थापना गर्दाको लगानी रकम भएको र सोही अनुसार ब्याज आम्दानी देखिएको उनको भनाई छ ।

सहायक कम्पनीले आम्दानीका साथै खर्च पनि गरेको विबरणमा देखिन्छ जसमा प्रशासनिक र सञ्चालन  लगायतका खर्चहरु समेटिएका छन् । त्यसैगरि केहि रकम राजश्वमा पनि तिरेको छ ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीको मोबाइल मनी सेवाको हालै सफ्ट लन्च गरिएको थियो र सो सेवा परीक्षणको क्रममा रहेको छ । कम्पनीले लकडाउन खुलेसँगै र केहि प्राविधिक कार्यहरु सम्पन्न गरेसँगै सेवा सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

easy care

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार