सामसङले यो वर्ष १० लाख ओएलईडी नोटबुक बिक्री गर्ने

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

सामसङले यो वर्ष १० लाख ओएलईडी नोटबुक बिक्री गर्ने

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले यो वर्ष कम्पनीले हालै सार्वजनिक गरेको ग्यालेक्सी बुक प्रो नामक नोटबुक सिरिज १० लाख थान बिक्री गर्ने योजना बनाएको छ।

दइलेकका अनुसार कम्पनीले अघिल्लो महिना ग्यालेक्सी बुक प्रो ३६० र ग्यालेक्सी बुक प्रो सार्वजनिक गरेको थियो। यी दुवै मोडल १५.५ र १३.३ इन्चको भेरियन्टमा उपलब्ध छन्।

यी नोटबुकहरुमा सामसङले पहिलोपटक ओएलईडी प्यानल प्रयोग गरेको छ।
विश्वमा नोटबुकको मूल्य मात्र नभइ माग पनि तीव्ररुपमा बढेकाले १० लाख थान बिक्रीको अपेक्षा खासै अव्यवहारिक नभएको कम्पनी निकट एक व्यक्तिले बताएका छन्।

नोटबुक क्षेत्रमा सामसङ खासै ठूलो नाम होइन। स्ट्र्याटेजी एनालिटिक्सका  अनुसार गत वर्ष ५ करोड ४९ लाख थान बेचेर लेनोभो अग्रस्थानमा रहेको थियो। उसकले जम्मा २४.२ प्रतिशत बजार हिस्सा ओगटेको थियो।

त्यसपछि ५ करोड २२ लाख थान र २३ प्रतिशत बजार हिस्साका साथ एचपी दोस्रो नम्बरमा आएको थियो।

तेस्रो नम्बरमा ३ करोड ५४ लाख थान र १५.६ प्रतिशत बजार हिस्सा ओगटेको डेल तेस्रो, १ करोड ९७ लाख थान र ८.७ प्रतिशत बजार हिस्सासहित एप्पल चाैथो तथा एसरले १ करोड ६५ लाख थान बेचेर ७.३ प्रतिशत बजार हिस्सा ओगट्दै उत्कृष्ट ५ मा स्थान बनाउन सफल भएका थिए।

तर यस वर्ष समग्र नोटबुकको बजार फैलने देखिएको छ। अर्को अनुसन्धान फर्म ट्रेन्डफोर्सले यो वर्ष नोटबुकको बिक्री गत वर्षको २२ करोड थानको तुलनामा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। गत वर्ष सन् २०१९ भन्दा २३ प्रतिशतले वृद्धि भएर नोटबुकको बिक्री २० करोड थान नाघेको थियो।

यसैबीच सामसङ इलेक्ट्रोनिक्सले यो लक्ष्य पूरा गर्नका लागि सामसङ डिस्प्लेबाट पर्याप्त संख्यामा ओएलईडी प्यानल जुटाउनुपर्ने हुन्छ।

easy care

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार