मनमोहन प्राविधिक विश्वविद्यालयले ल्यायो ड्रोन क्यामरा, औद्योगिक र कृषि क्षेत्रमा उपयोग गरिने

Technology Khabar १८ फाल्गुन २०७७, मंगलवार

मनमोहन प्राविधिक विश्वविद्यालयले ल्यायो ड्रोन क्यामरा, औद्योगिक र कृषि क्षेत्रमा उपयोग गरिने
सांकेतिक

काठमाडौं ।

अनुसन्धान केन्द्रका रूपमा स्थापित हुँदै गएको मोरङ जिल्लामा अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालयले अनुसन्धान कार्यका लागि इन्डस्ट्रियल ड्रोन क्यामरा प्रयोगमा ल्याउने भएको छ ।

प्रदेश १ का स्थानीय तह, औद्योगिक र कृषि क्षेत्रको अनुसन्धानमा उपयोग हुने भएकाले विश्वविद्यालयले उक्त क्यामरा प्रयोगमा ल्याउन लागेको हो । हङकङबाट ल्याइएको सो ड्रोन क्यामराको सफल परीक्षणसमेत गरिएको छ ।

करिब २५ लाख रुपियाँमा खरिद गरिएको उक्त ड्रोन क्यामराले जग्गाको थ्रीडी नक्सा चाँडै बनाउन सक्ने मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा. सुवासश्री पोखरेलले बताए ।

अहिलेसम्म यस किसिमको नक्सा फित्ताले नाप लिएर तयार गरिन्थ्यो । जसका कारण ठूलो क्षेत्रफल भएको स्थानको नक्सा तयार गर्न महिनौँ दिनसम्म लाग्ने गरेको डा. पोखरेलको भनाइ छ।

“अब यो ड्रोन क्यामराको सहयोगले ठूलो क्षेत्रको पनि थ्रीडीसहितको नक्सा केही दिनमै बनाउन सकिन्छ”, डा. पोखरेलले भने ।

उक्त ड्रोन क्यामरा औद्योगिक क्षेत्रका लागि पनि उपयोगी हुने बताइएको छ । त्यस्तै कृषि क्षेत्रमा विषादी छर्न, एक केजी सामानसम्म एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन र सुरक्षा निगरानीमा पनि सो ड्रोन क्यामरा प्रयोग गर्न सकिने डा. पोखरेलको भनाइ छ ।

सो ड्रोन क्यामरा स्थानीय तह, उद्योग प्रतिष्ठान, सङ्घसंस्था, कृषि क्षेत्रसँग सम्बन्धित सबै निकायले विश्वविद्यालयलाई निश्चित शुल्क तिरेर प्रयोग गर्न सकिने विश्वविद्यालय प्रमुख डा. पोखरेलले जानकारी दिए। गोरखापत्रबाट

easy care

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार