आईपिओ बाँडफाँडको नतिजा हेर्न छुट्टै वेब पोर्टल सञ्चालनमा

Technology Khabar १५ फाल्गुन २०७७, शनिबार

आईपिओ बाँडफाँडको नतिजा हेर्न छुट्टै वेब पोर्टल सञ्चालनमा

काठमाडौं ।

सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) ले सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा हेर्नको लागि छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ ।

लगानीकर्ताले सहज रुपमा आईपीओको रिजल्ट हेर्न सकून् भन्ने उद्देश्यले सीडीएससीले नयाँ वेबपोर्टल ‘आईपीओरिजल्टसीडीएससीडटकमडटएनपी’ (https://iporesult.cdsc.com.np/)सञ्चालनमा ल्याएको हो ।

यसअघि शुक्रबार महिला लघुवित्तको नतिजा सहज रुपमा हेर्न नपाएपछि लगानीकर्ताले सिडिएसको कडा आलोचना गरेका थिए ।

नयाँ वेबसाइट संचालनमा आएसँगै लगानीकर्ताले आईपीओ लगायत सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा ‘आईपीओ रिजल्ट सीडीएससी डटकम डट एनपी’ मा गएर सहज रुपमा हेर्न सक्नेछन् ।

यसअघि सीडीएससीले दुई दिन अघि मात्रै आईपीओको रिजल्ट तीन वटा निकाय आईपीओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो सेयर मार्फत मात्रै हेर्न पाइने गरि नयाँ व्यवस्था गरेको थियो ।

सो अनुरुप फागुन १४ गते बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडको नतिजा सो कम्पनी तथा उक्त सार्वजनिक नियकाशनको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वेबसाइटमा मात्र राखिएको थियो ।

तर, लगानीकर्ताको अत्याधिक चापका कारण दुबै वेवसाइटले काम गर्न नसकेकोले उनीहरु उक्त सेवा पाउनबाट बञ्चित भएकाले सीडीएससीले नयाँ साइट सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

हाल सञ्चालनमा ल्याइएको नयाँ पोर्टलमा सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने हुँदा जति लगानीकर्ताहरुले हेर्दा समेत कुनै समस्या नहुने बताईएको छ। यसमा सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन गर्न सकिने गरि उच्च क्षमतामा तयार गरिएको सीडीएससीले जनाएको छ ।

easy care

प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार