शंकास्पद धन ओसारपसारमा चिनियाँ दूरसञ्चार उपकरण निर्माता जेडटिईको संलग्नता

Technology Khabar ५ आश्विन २०७७, सोमबार

शंकास्पद धन ओसारपसारमा चिनियाँ दूरसञ्चार उपकरण निर्माता जेडटिईको संलग्नता

काठमाडौं ।

खोज पत्रकारिता केन्द्र

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ। अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज’ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो ।

‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महीनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ ।

शंकास्पद धनको कारोबार र ओसारपसार गरेको भन्ने ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंकको नाम उल्लेख छ ।

आईसीआईजेबाट खोज पत्रकारिता केन्द्र (खोपके) ले प्राप्त कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिएको छ ।

सो बारेमा खाेपकेले सार्वजनिक गरेको रिपोर्टमा नेपालमा दूरसञ्चार उपकरणहरुको कारोबार गर्दै आएको चिनियाँ कम्पनी जेडटिईको बारेमा पनि उल्लेख रहेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र जेडटिईबिच भएको कारोबार बिबरण शंकास्पद भएको आशंका गरिएको छ ।

इन्भेष्टमेन्ट बैंक र जेडटीईको सम्बन्ध 

‘फिनसेन’का अनुसार, चीनको सबैभन्दा ठूलो दूरसञ्चार सामाग्री आपूर्तिकर्ता कम्पनी ‘जिहोङसिङ् टेलिकम्युनिकेसन इक्वीपमेन्ट कर्पोरेशन’ (जेडटीई) ले १७ मार्च २०११ देखि १ मार्च २०१७ सम्म २१ करोड ३३ लाख ८१ हजार ४६१.२४ अमेरिकी डलर (रु.२५ अर्ब ३९ करोड २३ लाख ९३ हजार ८८७) रकम नेपालसहितका अन्य मुलुकमा पठाएको थियो ।

जेडटीईले बेइजिङस्थित चाइना कन्स्ट्रक्सन बैंमार्फत उक्त कारोबार गरेको थियो । उसले गरेको कारोबार रकम शंकास्पद भएको चाइना कन्स्ट्रक्सन बैंकको अमेरिकास्थित न्यूयोर्क शाखाले पत्ता लगाएको थियो । ४ नोभेम्बर २०१३ देखि २७ फेब्रुअरी २०१७ सम्मको तीन वर्ष चार महीनामा नेपाल इन्भेष्टमेन्ट बैंकमा जेडटीईले रकम जम्मा गरेको भेटिएको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौंस्थित कार्यालयमा ५ हजार ७०९.०९ अमेरिकी डलर (रु.६ लाख ७९ हजार ३८१), ५ हजार २४४.७७ अमेरिकी डलर (रु.६ लाख २४ हजार १२६), ४० हजार ३५७.७५ अमेरिकी डलर (रु.४८ लाख २ हजार ५७२) र १० अमेरिकी डलर (रु.१ हजार १९०) जेटीई कर्पोरेसनले जम्मा गरेको विवरणमा उल्लेख छ ।

फिनसेनले विभिन्न सञ्चारमाध्यमलाई हवाला दिंदै उल्लेख गरे अनुसार, पाँच वर्षको अनुसन्धानमा जेडटीईले अमेरिकाले लगाएको प्रतिबन्धबाट बच्न ‘अनेक षडयन्त्र गरेको भेटियो’ भनेको छ । कम्पनीले ‘अमेरिकाबाट दूरसञ्चारका सामग्री खरीद गर्ने र ती सामग्रीलाई जेडटीईको उपकरण भन्दै अवैधानिक रूपमा इरान पुर्‍याएर बिक्री वितरण गर्ने गरेको’ उल्लेख छ । जेडटीईले अमेरिकी प्रतिबन्ध विरुद्ध नियामक निकायको आँखा छल्ने गरी विभिन्न मुलुकमा शंकास्पद धन कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

जेडटीई नेपालमा दूरसञ्चार उपकरण निर्यात गर्ने एक प्रमुख कम्पनीमा पर्छ । २०७२ वैशाखको भूकम्पलगत्तै नेपालको दूरसञ्चार कम्पनी एनसेलको टावर निर्माणका लागि उपकरण आयात गर्दा उसले रेडक्रसका स्टिकर टाँसेर राहत सामग्री भन्दै व्यावसायिक प्रयोजनका सामग्री भित्र्याउन खोजेको थियो । भन्सार जाँचपास गर्ने क्रममा उक्त कुरा पत्ता लागेपछि रु.१ करोड १० लाख भन्सार महसुल बुझाएर उसले ती सामान छुटाएको थियो ।

जेडटीईसँगको रकम कारोबारको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट बैंकका ‘डेपुटी जनरल म्यानेजर’ बिजेन्द्र सुवालले प्रतिक्रियाका लागि शंकास्पद भनिएको कागजात नै पठाउनुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आफूहरूले बैंक र ग्राहकबीचको सम्बन्ध खुलाउन नसक्ने बताए  ।

इमेलमा हाम्रो प्रश्नको जवाफ दिंदै उनले भनेका छन्, “उचित प्रमाणको अभावमा गोपनीयता सम्बन्धी कानूनी दायित्वका कारण हामी हाम्रा ग्राहक सम्बन्धी जानकारी खुलाउन सक्दैनौं ।” हामीले यस सम्बन्धमा जेडटीईलाई इमेल गरेर प्रश्न राखेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

जेडटिईलाई यसअघि अमेरिकाले समेत इरानसँग कारोबार गरेको फेलापारेपछि प्रतिबन्ध लगाएको थियो भने अर्बौं डलर जरिवाना गरेको थियो ।

नेपाल र एकमुष्ट ट्रान्सफर

‘फिनसेन’मा उल्लेख भए अनुसार, सम्पत्ति शुद्धीकरण र आर्थिक कारोबारका दृष्टिले उच्च जोखिमयुक्त मुलुकहरूमा एकमुष्ट रकम ट्रान्सफर भएको देखिन्छ । एउटा उदाहरण हो ४ नोभेम्बर २०१५ देखि १९ जनवरी २०१६ सम्म लक्जेम्बर्गको डुओडिकड नामक आईटी कम्पनीले गरेको कारोबार– जसले १५ पटकमा (२४ हजार ७१२.३५ अमेरिकी डलर (रु.२९ लाख ४० हजार ७६९) ‘ट्रान्सफर’ गरेको थियो । ‘फिनसेन’का अनुसार, उक्त रकम नेपाल, क्यानडा, कतार, जाम्बिया र हङ्गेरीका नाम नखुलेका पाँच व्यक्तिका नाममा जम्मा भएको छ ।

डुओडिकड आईटी कम्पनी, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र लक्जेम्बर्गको सोसाइटी युरोपेनी डी बैंक एस.ए कम्पनीले ७ अप्रिल २०१५ देखि २२ जून २०१५ सम्ममा २० पटक २९ हजार ८०५.२३ अमेरिकी डलर (रु.३५ लाख ४६ हजार ८२२) पठाएको देखिन्छ । उक्त रकम १८ पटकमा नेपाल, क्यानडा, हङ्गेरी र लक्जेम्बर्गका विभिन्न व्यक्तिका नाममा पठाइएको थियो ।

२ डिसेम्बर २०१४ देखि २३ मार्च २०१५ सम्म ड्युडेकड, लक्जेम्बर्गको सोसाइटी युरोपेनी डी बैंक एस.ए, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र जर्मनीको यूनिक्रेडिट बैंक एजीले ४७ पटकमा २ करोड ९९ लाख ३९ हजार ५६.८४ अमेरिकी डलर (रु.३ अर्ब ५६ करोड २७ लाख ४७ हजार ७६४) ट्रान्सफर गरेको थियो । यसमध्ये डुओडिकड आईटीले ३६ पटकमा जोर्डन, बलिज, नेपाल, क्यानडा, हङ्गेरी र बेलायतस्थित अर्थपोर्टका विभिन्न व्यक्तिलाई रकम पठाएको थियो ।

डुओडिकड आईटीले पेअनियरका विभिन्न खाता प्रयोग गरेर १५२ पटकमा १ करोड ११ लाख ८२ हजार ९२९.६३ अमेरिकी डलर (रु.१ अर्ब ३३ करोड ७ लाख ६८ हजार ६२६) ट्रान्सफर गरेको थियो । जुन रकम कोस्टारिका, सिङ्गापुर, रोमानिया, चीन, रसिया, क्यानडा, अमेरिका, नेपाल, जर्मनी, युक्रेन, पोल्याण्ड, सेसल्स, काजकिस्तान, युगाण्डा, हङ्गेरी, बाङ्लादेश, ग्वाटेमाला, नेदरल्याण्ड्स र फिलिपिन्सका विभिन्न व्यक्ति र संस्थालाई पठाइएको थियो ।

सबै कारोबार गैरकानूनी भएकाले ‘फिनसेन’ ले शंकास्पदको सूचीमा राखेको हो । फिनसेनले उक्त कारोबार ‘नेपाल, भारत, पाकिस्तान, लेबनान, रसिया, इथियोपिया, इजिप्ट, नाइजेरिया, कम्बोडिया, क्यामरुन, युगान्डा, युएई, बहराइन, रुवान्डा र अफगानिस्थान जस्ता सम्पत्ति शुद्धीकरणको काम हुने उच्च जोखिमयुक्त मुलुकमार्फत भएको’ उल्लेख गरेको छ ।

पूर्ण रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

easy care

प्रकाशित: ५ आश्विन २०७७, सोमबार