अनलाइनबाटै विद्यार्थीलाई पढाउन सकिने, यस्तो छ शिक्षा मन्त्रालयले ल्याएको सिकाइ निर्देशिका

Technology Khabar २० जेष्ठ २०७७, मंगलवार

अनलाइनबाटै विद्यार्थीलाई पढाउन सकिने, यस्तो छ शिक्षा मन्त्रालयले ल्याएको सिकाइ निर्देशिका
तस्विरः ओएलई नेपाल डट ओआरजीबाट

काठमाडौं ।

सरकारले अनलाइन माध्यमबाट पनि विद्यार्थीहरुलाई पढाउन सकिने गरि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७ ल्याएको छ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको निर्देशिकाअनुसार विद्यार्थीहरुलाई विभिन्न प्रविधिको माध्यमबाट पढाउन सकिने छ जसमा उनीहरुसम्म प्रविधिको पहुँचको आधारमा वर्गीकरण गरिएको छ ।

जसमा सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थी समुह, रेडियो, एफएममा पहुँच भएका विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहमा पहिचान र वर्गीकरण गरिएको छ ।

यी सबै विद्यार्थीहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेका सामाग्रीहरु उपलब्ध गराउने गरि व्यवस्था मिलाउन सबै निकायहरुलाई भनिएको छ ।

त्यसैगरि विद्यार्थीको वर्गीकरणको आधारमा उनीहरुलाई वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन गराउन सकिनेछ ।

इन्टरनेटमा पहुँच नभएका तर अन्य वैकल्पिक प्रविधि भएका

रेडियो एफएममा पहुँच हुने विद्यार्थीहरुका लागि एफएम रेडियोमार्फत केन्द्रका सामाग्रीहरु उपलब्ध गराएर प्रशारण गर्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ । जसमा विद्यार्थीहरुको लेख रचनाहरु समेत रेडियोमा प्रशारण गर्ने व्यवस्था गर्न सकिनेछ ।

टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूहका लागि भने केन्द्रले विकास र संयोजन गरेका कक्षागत सिकाइ सामाग्रीहरु टेलिभिजनबाट प्रशारण गर्नसकिने छ । प्रशारण भएका पाठहरु विद्यार्थीहरुले अध्ययन गरे नगरेको अनुगमन समेत गर्नुपर्नेछ ।

त्यसैगरि कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएको विद्यार्थी समूहलाई भने अनलाइनमा तयार गरिएको सामाग्रीहरु अफलाइन मोडमा उपलब्ध गराउनुपर्नेछ ।

यसमा पाठ्यक्रम विकास केन्द्रको स्वीकृतीअनुसारका सामाग्रीहरु बजारमा समेत उपलब्ध गराउन सकिनेछ ।

त्यसैगरि अफलाइनमा अध्ययन गरे नगरेको अनुमन गर्न समुदायका शिक्षकहरुबाट सहजिकरण गर्न सकिने छ ।

इन्टरनेटमा पहुँच भएकाका लागि

इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि भने केन्द्र, प्रदेश र स्थानीय तहले अनलाइन सिकाइ सामाग्रीहरु तयार गरि अनलाइन माध्यममा उपलब्ध गराउन सक्नेछन् ।

यसको लागि खुला स्रोतमा उपलब्ध अनलाइन सिकाइ सामाग्रीहरु प्रयोग गर्न सकिने छ । यसैगरि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइनमा प्रसारण गरिएका श्रव्य दृश्य सामाग्रीहरु लर्निङ्ग पोर्टल वा युट्युबमा अपलोड गर्नुपर्नेछ ।

यी सबै सामाग्रीहरु अनलाइन र मोबाइल एप्लिकेसनको रुपमा विकास गर्न सकिने छ तर त्यसमा साइबर सुरक्षा निर्देशिकाको अधिनमा रहेर तयार गरिनुपर्ने नयाँ निर्देशिकामा उल्लेख छ ।

यहाँ उपलब्ध छन् सामाग्रीहरु

यी कार्यक्रमहरु संचालन गर्नको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र लर्निङ्ग पोर्टल र प्रसारण भएका पाठहरु यूट्यूब च्यानल तथा पाठ्यक्रम विकास केन्द्रको इ-पुस्तकालयमा उपलब्ध रहेका छन र यसको लिंक शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा समेत रहेको छ।

यी सामाग्रीहरु निशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ, जहाँ थप सिकाइ सामाग्रीहरु नियमित रुपमा अपलोड गरिने उल्लेख गरिएको छ ।
उल्लेखित कार्यक्रमका अतिरिक्त विद्यालय तथा शिक्षकले समेत प्रविधिका आधारमा सिकाइ सामाग्रीहरु विकास गरी सिकाइ सहजीकरण गर्न सक्नेछन् ।

निर्देशिकाले वैकल्पिक प्रविधिमार्फत अध्ययन अध्यापन गराउनका लागि सम्बन्धित निकायहरुको समेत भूमिकालाई स्पष्टरुपमा उल्लेख गरेको छ ।

हेर्नुस् निर्देशिका-

वैकल्पिक_प्रणालीबाट_सिकाइ_सहजीकरण_निर्देशिका_२०७७ (1)

 

easy care

प्रकाशित: २० जेष्ठ २०७७, मंगलवार