कोभिड-१९ ट्रेसिङ एप ‘कोभिडएनपी’ सार्बजनिक, ब्लूटूथमार्फत संक्रमितको पहिचान गरिने

Technology Khabar २८ बैशाख २०७७, आईतवार

कोभिड-१९ ट्रेसिङ एप ‘कोभिडएनपी’ सार्बजनिक, ब्लूटूथमार्फत संक्रमितको पहिचान गरिने

काठमाडौं ।

कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर सिसीएमसी ओपिसीको औपचारिक एप ‘कोभिडएनपी’को शुरुआत गरिएको छ।

सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले कोभिड नियन्त्रणका लागि सरकारलाई सघाउन निशुल्क तयार पारेको एपको उपप्रधान एवं रक्षमन्त्री इश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका हुन् ।

आफ्नो मोबाइलमा कोभिड एनपी एप डाउनलोड गरेपछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिज गर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन् । सम्भावित बिरामीको पहिचान गरी समयमा नै दु्रत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो ।

जो कसैले पनि गूगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट कोभिड एनप्पी नामको उक्त एप डाउनलोड गरी प्रयोग गर्न सकिने बताईएको छ । गूगल प्लेमा अहिले नै उपलब्ध भैसकेको उक्त एप एप्पलको एप स्टोरमा केही दिनमा उपलब्ध हुने जानकारी कार्यक्रममा दिइएको छ ।

यो एपबाट कोभिड-१९ रोगका लक्षण, संक्रमणमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुने दाबी गरिएको छ ।

प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकताअनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको एप निर्माण कम्पनी आइमार्क प्रालिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

समारोहमा रक्षामन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमान्दार प्रयासको खाँचो औँल्याए । उनले भने, “कोभिड– १९ बारे सूचना दिन बनाइएका एप आम नागरिकले सरल ढङ्गबाट थाहा पाउने, बुझ्ने र प्रयोग गर्नसक्ने हुनुपर्छ, गलत सूचना प्रवाह हुन नदिनेतर्फ सबै होसियार रहनुपर्छ ।”

कोभिडबारे यथार्थ जानकारी जनतालाई दिन जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले जानकारी होस् भन्ने हेतुले तयार गरिएको एपको प्रयोग गर्न, सही सूचना प्राप्त र प्रवाह गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड– १९ सम्बन्धी जानकारी र सूचना एकीकृतरुपमा प्राप्त गर्न सकियोस् भन्ने हेतुले तयार गरिएको एपबाट प्रयोगमा सहज र सरल गराउने तथा दुरुपयोग नहोस् भन्नेमा उच्च सतर्कता हुन आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीका सूचना तथा प्रविधि सल्लाहकार असगर अलीले अन्य मुलुकमा प्रयोगमा ल्याएको जस्तै एप तयार भएको भन्दै प्रयोग गर्न सबैलाई अपिल गरे । उनले कोभिड एनपी एपको प्रयोग सही तरिकाले सबैले गरेको खण्डमा कोरियाको जसरी नै संक्रमण नियन्त्रणमा सरकारले सफलता हासिल गर्ने र दैनिकी सहज बन्दै जाने विश्वास व्यक्त गरे ।

कोरोना नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कार्यरत ७० जनाभन्दा बढी प्रविधिक तथा चिकित्सकको योगदानमा एप तयार पारिएको कम्पनीको दाबी छ।

उक्त एपमा राखिएका तथ्य तथ्याङ्क राष्ट्रिय सूचना केन्द्रको सर्भरमार्फत स्वास्थ्य मन्त्रालय, डेभलपर, प्रयोगकर्ता र सम्बद्ध पक्षका बिचमा सम्पर्क स्थापित गर्नेछ । एप प्रयोगकर्ताहरुले ब्लुटुथ अन गरिराखेको खण्डमा सम्भावित संक्रमितहरुको पहिचान गर्न नागरिकलाई सहज हुने विश्वास गरिएको छ ।

जसका कारण आईमार्कले सबै प्रयोगकर्तालाई ब्लुटूथ बन्द नगर्न पनि आग्रह गरेको छ । कोभिड– १९ का सम्बन्धमा तथ्यपरक र एकिकृत तथ्याङ्क राख्न एप फलदायी हुने विश्वास लिइएको छ ।

गुगल प्ले स्टोरबाट कोभिड एनपी एप डाउनलोड यहाँ क्लिक गर्नुहोस्।

भिडियोमा हेर्नुस् यसका विशेषताहरु –

(भिडियो कार्यक्रम आयोजकबाट प्राप्त)

easy care

प्रकाशित: २८ बैशाख २०७७, आईतवार

ताजा समाचार