भेन्टिलेटरको अभावलाई ध्यानमा राख्दै एमआईटीको टिमले सस्तो भेन्टिलेटर डिभाइस बनाउँदै

Technology Khabar १७ चैत्र २०७६, सोमबार

भेन्टिलेटरको अभावलाई ध्यानमा राख्दै एमआईटीको टिमले सस्तो भेन्टिलेटर डिभाइस बनाउँदै
एमआईटी ई–भेन्ट(एमआईटी इमर्जेन्सी भेन्टिलेटर)को वेबसाइटबाट

काठमाडौं ।

कोरोना भाइरसको माहामारीले गर्दा विश्वभर विभिन्न मेडिकल सामाग्रीहरुको अभाव देखिएको छ । अस्पतालहरुमा ठाउँको अभावका साथै स्वास्थ्यकर्मीहरुका लागि मास्क, पन्जा, पिपिई मात्रै होईन की बिरामीका लागि भेन्टिलेटरको समेत अभाव रहेको छ ।

कतिपय देशहरुमा ठूला विभिन्न कम्पनीहरुले ती सामाग्री बनाउने घोषणा गरेर उत्पादन गरिसक्दा पनि विशेषगरि भेन्टिलेटरको समस्या समाधान छिटै नहुने देखिएको छ ।

यहि विषयलाई ध्यानमा राखेर अमेरिकाको प्रविधिको अनुसन्धान र विकासको क्षेत्रमा काम गरिरहेको म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी)ले सस्तो, सुरक्षित र वैकल्पिक प्रविधि विकास गर्न लागेको छ । एमआईटीका भौतिकशास्त्रीहरु, इन्जिनियरहरु, कम्प्यूटर वैज्ञानिकहरु र अन्यले मिलेर भेन्टिलेटरको विकास गरेको फाइनान्सियल एक्सप्रेसको रिपोर्टमा उल्लेख छ।

रिपोर्टकाअनुसार यो भेन्टिलेटर तत्कालै कुनैपनि स्थानमा लान सकिने गरि तयार पारिएको छ ।

यसको लागि एमआईटी ई–भेन्ट(एमआईटी इमर्जेन्सी भेन्टिलेटर)को समूह गएको मार्च १२ मा गठन गरिएको र त्यसले तिब्ररुपमा फैलिरहेको महामारीलाई सम्बोधन गर्नेगरि काम गरेको बताईएको छ ।

भेन्टिलेटर बनाउने र समूह गठन गर्ने विचार भने डाक्टरहरुले इन्स्टिच्यूटलाई गरेको अनुरोधहरुको आधारमा शुरु गरिएको थियो । यो विषय सन् २०१० मा एमआईटीको केहि विद्यार्थीहरुले सो समयमा तयार पारेको सिम्पल भेन्टिलेटरको डिजाइनको आधारमा आएको थियो, जसको मूल्य करिब १०० डलर मात्र पर्ने थियो । जबकी साँच्चिकैको भेन्टिलेटरको मूल्य करिब ३० हजार डलर पर्ने बताईएको छ ।

तत्कालिन समयमा सो पेपर प्रकाशित भएपनि त्यसमा भेन्टिलेटरको डिजाइन र परिक्षण मात्र समावेश गरिएको थियो । सो बेलामा ग्रामीण भेगलाई आवश्यक हुनेगरि डिजाइन बनाईएको भएपनि काम अगाडि बढेको थिएन् ।

तर अहिले तत्कालको आवश्यकता सम्बोधन गर्न नयाँ टिमले सोहि प्रोजेक्टसँग आबद्धहरुसहित काम शुरु गरेको हो ।

सो डिभाइसमा एउटा मोटर हुनेछ जसले स्वचालितरुपमा भल्भ र मास्कलाई कम्प्रेस गर्नेछ । केहि कम्पोनेन्टहरु भने निकै सामान्य छन जून आकस्मिक समूहले एम्बुलेन्समा प्रयोग गर्ने गर्दछ र बिरामीलाई स्वास प्रस्वासको लागि सहयोग गर्दछ ।

तर सो समूहले यो भेन्टिलेटर चलाउन दक्ष र अनुभवी मेडिकल व्यक्ति आवश्यक पर्ने चेतावनी दिएको छ ।

एमआईटीको सो प्रोजेक्टले हाल गरिरहेको कामको बारेमा आफ्नो वेबसाइटमा थप जानकारीहरु राखेको छ र अन्य समूहहरुले पनि साथसाथै कामगर्ने अपेक्षा गरेको छ ।

easy care

प्रकाशित: १७ चैत्र २०७६, सोमबार