Technology Khabar ४ असार २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । विश्वभर ५जी नेटवर्क विकास गर्ने र ५जी स्मार्टफोन सार्वजनिक गर्ने क्रम निरन्तर चलिरहेको छ । सामसंग, ह्वावे, ओपो, साओमी, वनप्लस, एलजी लगायतका विभिन्न कम्पनीहरुले ५जी स्मार्टफोन सार्वजनिक गरिरहेको क्रममा अर्को मोबाइल ब्राण्ड भीभो पनि जोडिने भएको छ । भीभोले आफ्नो पहिलो ५जी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले हालै वेबोमा नयाँ तस्विर सार्वजनिक गरेको छ, जसमा चीनको सांघाईमा हुने मोबाइल वल्र्ड कंग्रेसमा सहभागी हुँदै ५जी स्मार्टफोन सार्वजनिक गर्ने उल्लेख छ ।
सो तस्विरले भीभोले ५जी स्मार्टफोन लन्च गर्ने स्पष्ट जानकारी नदिएपनि कम्पनीले ५जी फोन नै ल्याउन लागेको अनुमान गरिएको छ । भीभोले ५जी स्मार्टफोन विकासमा निकै काम गरिरहेको छ तर सो स्मार्टफोन आगामी वर्ष मात्र आउने अनुमान गरिएको थियो ।
सो तस्विरमा ‘गीभ मी ५! ५जी’ भन्ने थीम राखिएको छ । जसले गर्दा ५जी स्मार्टफोन नै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
भीभोले आफ्नो हालको स्मार्टफोन भीभो नेक्स एस फ्ल्यागशिपलाई नै मोडिफाई गरेर ५जी स्मार्टफोन विकास गर्ने चर्चा आएको हो, जसमा क्वालकमको एक्स ५० मोडेम प्रयोग गरिने बताईएको छ ।
प्रकाशित: ४ असार २०७६, बुधबार