अमेजन विश्वको मूल्यबान ब्राण्ड बन्न सफल, एप्पल र गूगल क्रमशः दोस्रो र तेस्रो

Technology Khabar २९ जेष्ठ २०७६, बुधबार

अमेजन विश्वको मूल्यबान ब्राण्ड बन्न सफल, एप्पल र गूगल क्रमशः दोस्रो र तेस्रो

काठमाडौं ।

काठमाडौं । अमेजनले एप्पललाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । अमेजनले एप्पलका साथै गूगल, माइक्रोसफ्टलगायतलाई पनि पछि पार्न सफल भएको हो ।

हालै ब्राण्डजेडले सार्वजनिक गरेको विश्वका १०० मूल्यबान कम्पनीहरुको लिस्टअनुसार कम्पनीले बिगत १२ वर्षमा पहिलो पटक एप्पललगायतका टेक कम्पनीहरुलाई जितेको हो । यसअघि सन् २०१८ मा अमेजन तेस्रो सर्वाधिक मूल्यबान ब्राण्ड रहेको थियो भने त्यसको अगाडि एप्पल पहिलो र गूगल दोस्रो स्थानमा थिए । तर अहिले भने कम्पनीले वार्षिकरुपमा ५२ प्रतिशतको वृद्धिदर हासिल गर्दै टप ब्राण्ड बन्न सफल भएको ब्राण्डजेडको रिपोर्टमा उल्लेख छ ।

अमेजनको ब्राण्ड भ्यालू हाल ३१५ बिलियन अमेरिकी डलर रहेको छ भने एप्पल र गूगलको करिब करिब उत्तिनै अर्थात ३०९ बिलियन डलर रहेको छ । यसको चौथो नम्बरमा माइक्रोसफ्ट परेको छ जसको ब्राण्ड भ्यालू करिब २५१ बिलियन डलर रहेको छ ।

तर ब्राण्ड भ्यालू हेर्दा कम्पनीहरुको मार्केट क्याप र ब्राण्ड भ्यालूमा फरक देखिएको छ । किनकी मार्केट क्यापको आधारमा हेर्दा माइक्रोसफ्ट हालको सबैभन्दा ठूलो कम्पनी रहेको छ । जसको मार्केट क्याप करिब १०१६ बिलियन डलर रहेको छ भने अमेजनको ९१६ बिलियन डलर, एप्पलको ७५१ बिलियन डलर तथा गूगलको अल्फाबेटको ७५० बिलियन डलर रहेको छ ।

विश्वका प्रमुख १० मूल्यबाट ब्राण्डहरुमध्ये ८ वटा अमेरिकी रहेका छन भने २ वटा चिनियाँ ब्राण्ड रहेको छन् । सो लिस्टमा पाँचौं स्थानमा भीसा, छैठौं स्थानमा फेसबुक छ भने नवौं र दशौं स्थानमा म्याकडोनाल्ड र एटी एण्ड टी ब्राण्डहरु रहेका छन् । लिस्टको सातौं र आठौं नम्बरमा चीनको अलिबाबा ग्रुप र टेनसेन्ट ब्राण्ड क्रमशः रहेका छन् ।

प्रमुख १० ब्राण्डहरुमध्ये टेनसेन्ट र फेसबुकको मात्र वार्षिक वृद्धिदर घटेको देखिएको छ जसमा २७ प्रतिशत टेनसेन्टको घटेको छ भने फेसबुकको केबल २ प्रतिशत वृद्धिदर कम भएको छ ।

ब्राण्ड जेडका चेयरम्यान डेभिड रोथले पछिल्ला दिनहरुमा व्यक्तिगत वा एउटा मात्र उत्पादन वा सेवा भएका ब्राण्डहरुभन्दा पनि सम्पूर्ण ईकोसिस्टम भएको ब्राण्डहरुको मोडल सफल भएको छ । उनकाअनुसार यस्ता ब्राण्डहरुको वृद्धिदर र सफलता समेत बढ्ने देखिएको छ ।

प्रमुख १०० ब्राण्डहरुमध्ये नौ वटा कम्पनीहरुले पहिलो पटक प्रवेश पाएका छन जसमा डेल टेक्नोलोजीज, एक्सबक्स, हायर, मेटुआन र साओमी रहेका छन् । त्यसैगरि सन् १९९६ पछि स्थापना भएका ब्राण्डहरु जसलाई जेनजेड भनिएको छ ती कम्पनीहरुको प्रमुख स्थान र तिब्र वृद्धिदर रहेको देखिएको छ ।

ब्राण्ड भ्यालूमा अमेरिका र चीनबिचको व्यापार युद्धले समेत प्रभाव पारेको रिपोर्टमा उल्लेख छ । सो व्यापार युद्धका कारण प्रमुख १०० ब्राण्डहरुको वृद्धिदरमा पछिल्लो १२ महिनामा समग्रमा ७ प्रतिशतको कमी आएको छ । त्यसैगरि उपभोक्ताको विश्वासमा पनि कम आएको बताईएको छ।

स्रोत

easy care

प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार