हिमालय एअरलाइन्सको युएईको अबुधाबीमा नयाँ सञ्जाल विस्तार

Technology Khabar १८ चैत्र २०७५, सोमबार

हिमालय एअरलाइन्सको युएईको अबुधाबीमा नयाँ सञ्जाल विस्तार

काठमाडौं ।

काठमाडौं । हिमालय एअरलाइन्सले नेपालको काठमाडौंदेखि युएईको सम्पन्न र व्यस्त शहर अबुधाबीमा हप्ताको तीन दिन उडान गर्न शुरु गरेको छ ।

हिमालय एअरलाइन्सको एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उद्घाटन उडान गरेको छ । काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रुसहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्सको एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो । फिर्ति उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रुसहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अतवरण गरेको एयरलाइन्सले जानकारी दिएको छ ।

युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्सले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ ।

प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्घारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्सले आफ्नो नयाँ उडान भर्नेछ । बिदा, व्यावसायिक यात्रा तथा छोटो बसाइलाई मध्य नजर गर्दै उडानको तालिका तयार गरिएको कम्पनीले जनाएको छ ।

‘सिधा र पूर्णकालीन सेवा सञ्चालनका लागि दुबै बजारबाट व्यापक माग छ, र हामीले ग्राहकको माग अनुरुप यो कदम उठाएका हौं । नेपाल र युएईबीच व्यावसायिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बन्दै गएको छ । हामी आशा गर्छौं, यो नयाँ सञ्जालले युएईबाट नेपाल आउने यात्रु आवागमन सहज बनाउनेछ,’ उपाध्यक्ष विजय श्रेष्ठले भने ।

easy care

प्रकाशित: १८ चैत्र २०७५, सोमबार