नेपालमा मोबाइल मनी प्लेटफर्मको प्रयोगमा जटिलता रहेको एक अध्ययनको दाबी

Technology Khabar १५ बैशाख २०८०, शुक्रबार

नेपालमा मोबाइल मनी प्लेटफर्मको प्रयोगमा जटिलता रहेको एक अध्ययनको दाबी
Global IME Bank

काठमाडौं ।

पछिल्लो दशकमा नेपालमा वित्तीय समावेशीताका क्षेत्रमा उल्लेख्य प्रगति भएको एउटा नयाँ अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (यूएनसिडीएफ) ले तयार पारेको प्रतिवेदन, ‘द नेपाल फाइनान्सियल इन्क्लुजन रिपोर्ट २०२३’ (नेपाल वित्तीय समावेशीता प्रतिवेदन २०२३) ले नेपालमा समग्र वित्तीय सेवाको प्रयोग सुदृढ रहेको देखाएको छ, जसमा बैंकिङ सेवा ७५ प्रतिशतले प्रयोग गर्ने गरेको सबैभन्दा लोकप्रिय सेवा रहेको छ ।

यो प्रतिवेदन आईएफसी र नेपाल राष्ट्र बैंकद्वारा संयुक्त रूपमा कार्यान्वयनमा ल्याइएको ‘एक्सेस टु फाइनान्सियल सर्भिसेज नेपाल प्रोजेक्ट’ (नेपालमा वित्तीय सेवा पहुँच परियोजना) अन्तर्गत तयार पारिएको बताईएको छ।

तर प्रतिवेदनले मोबाइल वालेटमा खाता खोल्ने सम्बन्धी पर्याप्त जानकारीको अभाव, मोबाइल मनी प्लेटफर्मको प्रयोगका जटिलता लगायतका विषयलाई पनि औंल्याएको छ।

बैंकिङ सेवाको प्रयोगमा महिला र पुरुषबीच अझै असमानता कायमै रहेको छ, ८३ प्रतिशत पुरुषको तुलनामा ७९ प्रतिशत महिलाले मात्र यो सेवा प्रयोग गर्दछन् ।

अध्ययनले वित्तीय सेवाको प्रयोगका मुख्य अवरोधहरू पहिल्याएको छ। बैंक खाता नभएका अथवा त्यसको आवश्यकता नभएका व्यक्तिहरूसँग खर्च गरेर बाँकी रहने रकम अत्यन्त न्यून रहने, वा खाता खोल्नका लागि आवश्यक रकम अपर्याप्त हुने गरेको पाइएको छ। यसका अतिरिक्त, मोबाइल वालेटमा खाता खोल्ने सम्बन्धी पर्याप्त जानकारीको अभाव, मोबाइल मनी प्लेटफर्मको प्रयोगका जटिलता र एजेन्ट एवं सेवा केन्द्रको अभाव मुख्य बाधक रहेको बताइएको छ।

‘यदि हामी आर्थिक विकास हासिल गर्न चाहान्छौं भने वित्तीय समावेशीता अत्यन्तै महत्वपूर्ण छ,’ आईएफसी नेपालका राष्ट्रिय प्रतिनिधि (कन्ट्री रेप्रिजेन्टेटीभ) बाबाकर एस. फायले भने, ‘प्रविधिको विकासले बैंकको पहुँच नपुगेका वा सीमित सेवामा मात्र उपलब्ध रहेको अवस्थाबाट वित्तीय पहुँचलाई अझै समावेशी तथा सुलभ बनाउनुका साथै सिंगो बैंकिङ प्रणालीलाई नै लाभ पुर्याउन सक्छ ।’

नेपाल राष्ट्र बैंकको वित्तीय समावेशीता मार्गचित्र तथा कार्ययोजना (२०१७–२०२२) का लागि सूचकहरू प्रदान गर्ने उद्देश्यले यो अध्ययन संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषको प्राविधिक सुझावका आधारमा सञ्चालन गरिएको थियो ।

यूएनसीडीएफका ग्लोबल प्रोग्राम एड्भाइजर, डा. कमेश्नी नाइडूले नेपालले दिगो विकास लक्ष्य हासिल गर्नका लागि वित्तीय समावेशीता अपरिहार्य भएको टिप्पणी गरिन्।

‘हाम्रो प्रतिवेदनले केही प्रगति भएको देखाएको छ, यद्यपि त्यहाँ सबै नागरिकका लागि वित्तीय सेवामा पहुँच सुनिश्चित गर्न जरुरी छ ताकि उनीहरूले आफ्नो सुन्दर भविष्य निर्माण गर्न सकून् । यो डिजिटल युगमा कोही पनि पछि नपरुन् भनेर त्यस्तो भविष्य निर्माण गर्न यूएनसिडीएफ सरकारी र निजी क्षेत्रका साझेदारहरूसँग काम गर्न प्रतिवद्ध रहँदै आएको छ,’ उनले भनिन्।

Sajilo Visa

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार