साओमी एमआई ए२ को मूल्य भारतमा घट्यो, नेपालमा कहिले घट्छ ?

Technology Khabar २९ फाल्गुन २०७५, बुधबार

साओमी एमआई ए२ को मूल्य भारतमा घट्यो, नेपालमा कहिले घट्छ ?

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर साओमीले एन्ड्रोयड वानमा आधारित दोस्रो पुस्ताको स्मार्टफोन साओमी एमआई ए२ (Xiaomi A2) को मूल्य भारतीय बजारमा घटाएको छ ।

कम्पनीले यसको ४जीबी र्याम भेरिएन्टको बजार मूल्य कटौती गरेको हो । तर अर्को ६ जीबी र्याम भेरिएन्टको मूल्य भने यथावत नै राखिएको छ ।

यो स्मार्टफोन भारतमा एमआई डटकम तथा अमेजन इण्डियामार्फत किन्न सकिन्छ ।

यसको ४जीबी र्याम र ६४ जीबी स्टोरेजको भेरिएन्टमा निकै ठुलो मूल्य कटौती भएको हो । सो बारेमा कम्पनीका म्यानेजिंग डाइरेक्टर मनु जैनले ट्विटमार्फत जानकारी दिए । भारतमा एमआई ए२ को नयाँ मूल्य अब ११ हजार ९ सय ९९ भारु अर्थात १९ हजार रुपैयाँ हाराहारी तोकिएको छ ।

साओमीले भारतमा यो स्मार्टफोन गत वर्ष लन्च गरेको थियो । त्यसबेला कम्पनीले ४ जीबी र्यामको मूल्य १६ हजार ९ सय ९९ भारु तोकेको थियो तर अहिले सो फोनको मूल्य ५ हजार भारुले कम भएको छ । तर ६जीबी र्याम भेरिएन्टको एमआई ए२ को मूल्य भने अहिले १५ हजार ९ सय ९९ रुपैयाँ छ ।

नेपाली बजारमा पनि यो स्मार्टफोन गत वर्ष सेम्टेम्बरमा सार्वजनिक भएको थियो । कम्पनीले लन्चको समयमा नेपाली बजारमा साओमीको ४ जीबी भेरिएन्टको मूल्य ३० हजार ९ सय ९९ रुपैयाँ तोकेको थियो । तर हालसम्म पनि सो फोनको बजार मूल्य घटेको छैन् ।

भारतीय बजारमा दुई पटक एमआई ए२ को मूल्य घट्दा पनि नेपालमा यसको बजार मूल्य कम भएको छैन् । नेपालमा लन्चको समयमा नै पनि यो फोनको मूल्य भारतीय बजार भन्दा करिब ४ हजार रुपैयाँ महंगो रहेको थियो ।

बजार मूल्यलाई हेर्दा साओमीका अधिकांश स्मार्टफोनहरु अन्य बजारभन्दा नेपालमा महंगो मूल्यमा उपलब्ध हुने गर्दछ । जसले गर्दा आयातकर्ता कम्पनीले अधिक नाफा राखेर बिक्री गर्ने गरेको आरोप लाग्ने गर्दछ ।

अहिले त झन भारत र नेपाल बीचको बजार मूल्य अन्तर करिब १० हजार रुपैयाँ हाराहारी पुगेको छ । जसले गर्दा नेपाली बजारमा भारतबाट अवैध बाटोबाट साओमी एमआई ए२ स्मार्टफोन भित्रिने संभावना बढ्न सक्छ ।

नेपाली बजारमा साओमीले यो फोनको मूल्य घटाउँछ वा घटाउँदैन भन्ने केहि जानकारी छैन् ।

साओमी एमआई ए२ मा ५.९९ इन्चको फूलएचडी प्लस एलसिडी डिस्प्ले राखिएको छ । फोनमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ६६० प्रोसेसर राखिएको छ भने नेपालमा उपलब्ध हुने एमआई ए२ ४ जीबी र्याम र ६४ जीबी स्टोरेजमा मात्र उपलब्ध हुन्छ ।

एन्ड्रोयड वानमा आधारित एन्ड्रोयड ८.१ अपरेटिंग सिस्टम रहेको यो स्मार्टफोनमा फोटोग्राफीका लागि १२ मेगापिक्सेल प्लस २० मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा २० मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

यसमा ३०१० एमएएचको ब्याट्री फास्ट चार्ज ३.० सर्पोटका साथमा आउँछ ।

easy care

प्रकाशित: २९ फाल्गुन २०७५, बुधबार