महँगा आइफोन भारतमा बनाउने फ्याक्ट्रीका लागि अनुमति, घट्न सक्छ मूल्य

Technology Khabar २४ फाल्गुन २०७५, शुक्रबार

महँगा आइफोन भारतमा बनाउने फ्याक्ट्रीका लागि अनुमति, घट्न सक्छ मूल्य

काठमाडौं ।

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनी एप्पलले भारतमा उच्चतहका आइफोनसहितका डिभाइसहरु बनाउने भएको छ । यसको लागि हालै भारतको सूचना प्रविधि मन्त्रालयले विस्ट्रन कम्पनीलाई लगानीको लागि अनुमति प्रदान गरेको छ ।

भारतमा एप्पलको आइफोन बनाउँदै आएको विस्ट्रनले हालै ५ हजार करोड भारु रुपैयाको लगानीका लागि अनुमति पाएको हो । कम्पनीले मेक इन इण्डिया अभियानअन्तरगत भारतमा नै उच्च तहका आइफोनहरु बनाउने योजना लिएको छ ।

हाल विस्ट्रोनले सस्तो मूल्यको आइफोनहरु मात्र भारतमा बनाउँदै आएको छ । जसमा आइफोन सिक्स एस भन्दा मुनिका डिभाइसहरु छन् ।

हालै भारतीय आईटि मन्त्री रवि शंकर प्रसादले विस्ट्रनको ५ हजार ९१ करोड लगानीको निवेदनलाई अनुमति दिएको बताएका थिए । विस्ट्रनले सो लगानीमार्फत नयाँ आइफोनहरु भारतमा बनाउनेछ ।

सो लगानी बिस्तारपछि कम्पनीले भारतमा नै आइफोन ८ मोडल उत्पादन शुरु गर्नेछ ।

त्यसबाहेक अर्को कम्पनी फक्सकनले पनि भारतमा प्लान्ट लगाउनका लागि अनुमति कुरीरहेको छ । फक्सकनले भने आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्स मोडलहरु उत्पादन गर्ने योजना लिएको छ ।

हाल भारतीय बजारमा एप्पलको निकै कम बजार हिस्सा रहँदै आएको छ । एप्पलले भारतमा आइफोन एसई र आइफोन सिक्सएस मात्र उत्पादन गर्ने गर्दछ । तर यी फोनहरु भारतीय उपभोक्ताहरुका लागि निकै महंगो स्मार्टफोनको रुपमा रहेका छन् ।

एप्पलले भारतको बजारमा आफ्नो हिस्सा बढाउने बताउँदै आएको छ भने केहि बजारहरुका लागि मूल्य घटाउन सकिने सिईओ टिम कूकले बताउँदै आएका छन् । तर भारतीय बजारमा आफ्नो उपस्थिती बढाउन भारतमा नै उत्पादित आइफोन ल्याउँदा सहज हुनेछ ।

भारतमा नै उत्पादन हुँदा आयातित आइफोनभन्दा सस्तोमा बजारमा जाने र बिक्री बढ्ने एप्पलको अनुमान छ । त्यसैले एप्पलले भारतका लागि पनि विशेष रणनीति अपनाएर सस्तो मूल्यमा आइफोन बिक्री गर्न सक्ने विश्लेषकहरुको अनुमान छ ।

easy care

प्रकाशित: २४ फाल्गुन २०७५, शुक्रबार