अमेरिकाका दुई ठूला मोबाइल अपरेटर एक आपसमा गाभिए, अझ सस्तो मूल्यमा सेवा दिने

Technology Khabar १८ बैशाख २०७५, मंगलवार

अमेरिकाका दुई ठूला मोबाइल अपरेटर एक आपसमा गाभिए, अझ सस्तो मूल्यमा सेवा दिने

काठमाडौं ।

काठमाडौं । अमेरिकाका दुई ठूला मोबाइल अपरेटर स्प्रीन्ट (Sprint) र टि-मोबाइल (T-Mobile) एक आपसमा गाभिएका छन् । दुबै कम्पनीहरुले सोमबार सम्पूर्ण शेयर खरिद बिक्री कारोबार गरिने घोषणा गरेका छन् ।

दुबै कम्पनी मर्ज भएपछि बन्ने कम्पनीको नाम टि-मोबाइल राखिने छ र त्यसको मुख्यालय हाल टि मोबाइल रहेको वासिंगटनको वेलेभ्यू नामक स्थानमा राखिने छ । त्यस्तै अर्को मुख्यालय हाल स्प्रीन्टको मुख्यालय रहेको ओभरल्याण्ड पार्क, कान्सासमा राखिने बताईएको छ ।
मर्जर प्रकृयामा स्प्रीन्टको मूल्य ५९ विलियन अमेरिकन डलर तथा टि मोबाइलको मुल्य १४६ विलियन गरिएको थियो ।

हाल टि मोबाइल अमेरिकाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जोन लेगिरे नै नयाँ कम्पनीको सिईओ बन्नेछन भने निर्देशकको रुपमा समेत जिम्मेवारी पाएका छन् ।

दुबै कम्पनीले मर्जपछि भेरिजोन र एटि  एण्ड टिलाई कडा प्रतिस्पर्धा दिने अनुमान गरिएको छ ।

मर्जर प्रकृयामा डोयचे टेलिकमले ४२ प्रतिशत हिस्सा पाएको छ भने सफ्ट बैंकले २७ प्रतिशतको हिस्सा प्राप्त गरेको छ । बाँकी करिब ३१ प्रतिशत सार्वजनिक शेयर हिस्सा रहेको छ ।

मर्जरपछि नयाँ कम्पनीले सन् २०२४ सम्ममा स्पेक्ट्रम, अपरेटिंग खर्च र क्यापिटल इन्भेस्टमेटबाट ६ विलियन अमेरिकी डलर भन्दा बढि बचत गर्ने अपेक्षा गरेको छ ।

नयाँ कम्पनीले तिब्र प्रतिस्पर्धाको बजारमा आफ्ना अमेरिकी ग्राहकहरुलाई अझ सस्तो मुल्यमा उच्च स्तरको सेवा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

मर्जरपछि कम्पनीले फाइभ जी विकासमा ध्यान दिने गरि काम शुरु गरेको छ । जसको लागि कम्पनीले नयाँ वेबसाइट समेत शुरु गरेको छ ।

दुबै कम्पनीको संयुक्त कारोबार आगामी २०१९ को पहिलो अर्धवार्षिकसम्म पुरा हुने अनुमान गरिएको छ ।

स्रोत  माध्यम

easy care

प्रकाशित: १८ बैशाख २०७५, मंगलवार