आइफोन ८ र ८ प्लस दशैंपछि नेपाली बजारमा, एप्पल वाच पनि साथै आउने

Technology Khabar ९ आश्विन २०७४, सोमबार

आइफोन ८ र ८ प्लस दशैंपछि नेपाली बजारमा, एप्पल वाच पनि साथै आउने

काठमाडौं ।

काठमाडौं, ९ असोज । एप्पलले यहि भदौ २७ गते अर्थात सेप्टेम्बर १२ मा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ ।

नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसन्सले केहि साता भित्रै नयाँ आइफोन सार्वजनिक गर्ने जानकारी दिएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाकाअनुसार दशैं लगत्तै नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

‘आइफोन ८ र ८ प्लसको टाइप अप्रुभल आज लिँदैछौं, दशैंपछि नै नयाँ आइफोन बजारमा सार्वजनिक गर्नेछौं,’ प्रबन्ध निर्देशक भिमसरियाले मोबाइल्सखबरलाई भने ।

उनकाअनुसार पहिलो चरणमा कम्पनीले सिमित संख्यामा आइफोन सेट मगाउनेछ । कम्पनीले बजार माग बढेसँगै आंशिक सिपमेन्टमा  आइफोन सेट दिने भएको छ ।

जेननेक्स्टले पहिलो चरणमा आइफोन ८ र ८ प्लस मात्र सार्वजनिक गर्ने छ भने त्यसको करिब एक महिनामा आइफोन एक्स सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘आइफोन टेन आउन अझै समय लाग्छ, ८ र ८ प्लस सार्वजनिक गरेको एक महिनापछि मात्र आइफोन टेन आउँछ,’ भिमसरियाले भने ।

कम्पनीले नयाँ आइफोनका लागि हालै नेपाल दूरसंचार प्राधिकरणमा आइफोन ८ र ८ प्लससहित आइफोन एक्सको पनि टाइप अप्रुभल लिनका लागि आवेदन दिएको छ ।

यसका साथै कम्पनीले एप्पलका अन्य उत्पादनहरु भित्र्याउनका लागि पनि टाइप अप्रुभलको अनुमति माग गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

एप्पलका उत्पादनहरु एप्पल टिभी, एप्पल वाचको ८ वटै मोडल र एप्पल टिभी रिमोटको लागि टाइप अप्रुभल लिन आवेदन दिएको छ । करिब १० दिन अघि प्राधिकरणमा दिएको सो आवेदनअनुसार कम्पनीले प्रकृयानुसार छिट्टै टाइप अप्रुभलको अनुमति पाउने बताइएको छ ।

कम्पनीले हालसम्म नयाँ आइफोनको मूल्य कति हुने भनेर निर्णय गरेको छैन् ।

यस्तो छ नयाँ आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्स

आइफोन ८ तथा आइफोन ८ प्लस गत वर्ष सार्वजनिक भएको आइफोन ७ र ७ प्लसको अपग्रेडेड भर्सनको रुपमा आएको छ । यसको डिजाइन करीब करीब पुरानै छ । यसमा पछाडिको भागमा ग्लास राखिएको छ भने ए ११ चीप, र वायरलेस चार्जिंग सुविधा रहेको छ ।

आइफोन ८ र ८ प्लसमा एलईडी डिस्प्ले नै प्रयोग गरिएको छ भने आइफोन एक्समा बेजेललेस ओएलईडी डिस्प्ले राखिएको छ ।

एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष फोनको रुपमा आइफोन एक्स ल्याएको हो ।

कम्पनीले ल्याएको विशेष आइफोन एक्समा भने नयाँ विशेषताहरु राखिएका छन् । यो फोन आइफोनको सबैभन्दा प्रिमियम फोनको रुपमा आएको छ । यसमा ५.८ इन्चको ओएलईडी डिस्प्ले छ । यसमा निकै कम बेजेल छ माथिल्लो भागमा फ्रन्ट क्यामरा, ईयरपिस र थ्रीडी सेन्सरको लागि छुट्याईएको छ ।

डिजाइन

नयाँ आइफोनमा सबैभन्दा ठूलो परिवर्तन डिजाइनमा गरिएको छ । यसमा बेजेललेस ओएलईडी डिस्प्ले पहिलो पटक प्रयोग गरिएको छ र यो आइफोन एक्समा मात्र राखिएको छ । यस्तो प्रकारको डिजाइन आइफोनमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन हो ।

फेस आईडी क्यामरा

नयाँ आइफोन एक्स मा नयाँ विशेषतासहितको क्यामरा छ । यसको फ्रन्ट क्यामरामा फेस स्क्यानिङ्ग प्रविधि राखिएको छ । जसको सहयोगबाट तपाईँले आइफोनको डिस्प्लेमा हेरेर नै फोन अनलक गर्न सक्नुहुनेछ । अहिलेसम्म आइफोन अनलक गर्नको लागि टच आईडी सेन्सर प्रविधिको प्रयोग हुँदै आएको छ ।

वायरलेस चार्जिंग

एप्पलले नयाँ आइफोनमा वायरलेस चार्जिंग प्रविधि प्रयोग गरिएको छ । कम्पनीले हालसम्म आइफोनमा क्यूआई चार्जिंग प्रविधिको प्रयोग गरिरहेको छ तर यो पटक भने कम्पनीले वायरलेस चार्जिंगको अप्सन दिएको छ ।

चीपसेट

आइफोनले प्रत्येक पटक नयाँ आइफोनसँगै नयाँ चीपसेटको पनि घोषणा गर्ने गरेको छ । आइफोन ८ सिरिजका साथमा कम्पनीले ए११ चीपसेट सार्वजनिक गरेको छ । यसमा एप्पलले पहिलो पटक जीपीयूका साथमा सिक्स कोर ए११ बायोनिक चीपसेट राखेको छ ।

मूल्य

सार्वजनिक भएको आइफोन ८ को ६४ जीबीको मूल्य ६९९ अमेरिकी डलर तथा २५६ जीबीको मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ । त्यस्तै आइफोन ८ प्लस ६४ जीबीको मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ ।

त्यस्तै विशेष फोनको रुपमा आएको आइफोन एक्सको ६४ जीबीको मूल्य ९९९ अमेरिकी डलर तोकिएको छ भने २५६ जीबी भर्सनको मूल्य ११४९ अमेरिकी डलर तोकिएको छ ।

easy care

प्रकाशित: ९ आश्विन २०७४, सोमबार

ताजा समाचार