माेबाइल एपबाट ट्याक्सी बोलाउन ‘अन्भर’ स्मार्ट ट्याक्सी सेवा

Technology Khabar २६ पुष २०७३, मंगलवार

माेबाइल एपबाट ट्याक्सी बोलाउन ‘अन्भर’ स्मार्ट ट्याक्सी सेवा

काठमाडौं ।

काठमाडौं, २६ पुस । तपाई हामीले विदेशमा भएका उबर, ओला जस्ता मोबाइल एपमा आधारित अनलाइन ट्याक्सी सेवाको बारेमा सुन्दै र पढ्दै आएका हौं । तर यस्तो सेवाको अनुभव लिन पाएका थिएनौं । अब भने नेपालमै यस्तो सेवा प्रयोग गरेर घरमा नै ट्याक्सी बोलाउन सकिने भएको छ ।

नेपालीहरुले हालै शुरु गरेको मोबाइल एप तथा अनलाइनमा आधारित स्मार्ट ट्याक्सी सेवा ‘अन्भर’को (onver) सेवा शुरु भएको छ ।

इरासफ्ट सोलुसन प्रालिले (Erasoft Solution Pvt. Ltd.) बनाएको अन्भर नामक मोबाइल एपमा आधारित ट्याक्सी सेवा औपचारिकरुपमा शुरु भएको हो । सुलभ, सुनिश्चित र सुरक्षित यात्राको लागि मुल नारा सहित शुरु भएको यो प्रविधिको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो मोबाइलमै आफू नजिकै उपलब्ध खाली ट्याक्सीहरु नक्सामा अंकित भएको देख्न सक्दछन् । र एपमा भएको बटन थिचेपछि ट्याक्सीलाई आफू भएको स्थानमा नै बोलाउन सकिन्छ ।

नेपालमा पहिलो पटक यस्तो सेवा शुरु गरेका इरासफ्ट सोलुसनका निर्देशक ओम खड्काले यो सेवा अहिले शुरुवाती चरणमा नै रहेको बताए । ‘हामी अहिले प्रारम्भिक चरणमा नै छौं,’ उनले भने, ‘तर यसको सेवा लिनेको संख्या बढिरहेको छ ।’

यो सेवा शुरु गर्नको लागि कम्पनीले ट्याक्सी चालकसँग सम्झौता गरेर हाल करिब १०० वटा ट्याक्सीबाट सेवा प्रदान गरिरहेको छ । तर सबै ट्याक्सी एकै पटक संचालन नहुने हुँदा करिब आधा संख्यामा मात्र ट्याक्सीले सेवा दिईरहेको कम्पनीका निर्देशक खड्काले जानकारी दिए । हामीसँग करिब १०० वटा ट्याक्सी भएपनि विभिन्न कारणले करिब ५० प्रतिशत ट्याक्सी मात्र संचालन हुने गरेका छन्, उनले भने ।

अन्भर मोबाइल एप प्रयोगमार्फत ट्याक्सीको सेवा लिने यात्रु र ट्याक्सी चालकले मिटरमा ट्याक्सी चलाउनुपर्ने छ भने आवश्यक परेको बेलामा कुनैपनि बेला ट्याक्सी सेवा उपलब्ध हुने कम्पनीको दाबी छ । ‘हामीले सकेसम्म यात्रु र चालक दुबैको सुरक्षामा ध्यान दिएर कुनैपनि बेला आवश्यकताअनुसार ट्याक्सी सेवा दिईरहेका छौं,’ निर्देशक खड्काले भने, ‘हामीले छुट्टै कल सेन्टरबाट पनि तत्काल ट्याक्सी पठाउने गरेका छौं ।’

यो सेवा प्रयोगबापत यात्रुले भाडा बाहेक अतिरिक्त रकम तिर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ भने ट्याक्सी चालकबाट प्रति ट्रिप १५ रुपैंया सेवा शुल्क लिने गरेको छ ।

हाल यो सेवा लिनेमा अधिकांश विदेशमा रहेका नेपाली र विदेशीहरु रहेका छन भने स्वदेशीहरुले नगन्य मात्रामा मात्र सेवा लिईरहेको खड्काले बताए । ‘हामीलाई पनि अचम्म लागेको छ की अन्भर सेवाको माग स्वदेशीभन्दा बाहिरबाट नेपाल आउनेहरुले बढि गरिरहेका छन्,’ उनले भने ।

कम्पनीले हाल यो सेवालाई थप विस्तार गर्ने गरि तयारी पनि गरिरहेको र छिटै बृहतरुपमा सेवा शुरु हुने उल्लेख गरेको छ । अब तपाई पनि अन्भर ट्याक्सी एप डाउनलोड गरेर मोबाइल एपको माध्यमबाटै चाहिएको बेला ट्याक्सी सेवा लिने हैन त ।

याे स्मार्ट ट्याक्सी सेवा ‘अन्भर’ एन्ड्राेयडमा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

अन्भर र यसको सेवा बारेमा कम्पनीका निर्देशक ओम खड्कासँग बिस्तृतमा गरिएको कुराकानी केहि दिनमा नै पढ्न सक्नुहुनेछ ।

easy care

प्रकाशित: २६ पुष २०७३, मंगलवार