अब नेपालमा नै मोबाइल सेट उत्पादन हुने, भारतीय र नेपालीकाे संयुक्त लगानी

Technology Khabar २९ मंसिर २०७३, बुधबार

अब नेपालमा नै मोबाइल सेट उत्पादन हुने, भारतीय र नेपालीकाे संयुक्त लगानी

काठमाडौं ।

काठमाडौं, २९ मंसिर । लेमन ब्राण्डको मोबाइल फोन उत्पादन गर्दै आएको भारतीय मोबाइल उत्पादक कम्पनीले नेपालमा नै मोबाइल फोन उत्पादन गर्ने भएको छ ।

राससमार्फत चितवनबाट आएको समाचारअनुसार भारतीय कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको हो ।

उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरेका हुन् । चौगले आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताए ।

काठमाडौँ वा चितवनमध्ये एक ठाउँमा उद्योग स्थापनाका लागि अध्ययन भइरहेको उनले बताए । सन् २००८ बाट भारतको उत्तरप्रदेशस्थित ग्रेटरनोयडास्थित कारखानाबाट कम्पनीले लेमन ब्राण्डको मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ वटा मोडल नेपाली बजारमा बिक्री वितरण भईरहेको चौगले बताए ।

नेपालीले उत्पादन मन पराएको आफूले पाएको भन्दै उनले नेपालीकै रोजाइ अनुसार उद्योग स्थापना गर्न लागिएको बताए । लेमन मोबाइल नेपाली बजारमा अहिले मासिक ३० हजार वटा बिक्री वितरण भइरहेको भन्दै चौगले यहाँको कानुन अनुसार नेपाली लगानीकर्तालाई कम्पनीमा समावेश गर्ने बताए ।

प्रभु मोबाइल प्रालिका निर्देशक केशव लामिछानेले नेपालमा पहिलो पटक फास्टट्रयाकसँग मिलेर मोबाइल सेट उत्पादन गर्न लागेको बताए । “लागत कति लाग्छ एकिन नभए पनि आवश्यक मात्रामा लगानी गर्न यो समूह तयार छ,” उनले भने ।

यसैबिच कम्पनीले पाँच वटा नयाँ मोबाइल सेट नेपाली बजारमा ल्याएको छ । लेमन (Lemon) ब्राण्डका मोबाइलको मूल्य बजारमा रु आठ सयदेखि रु तीन हजार तीन सयसम्म पर्छ । नेपालमै यसको उत्पादन हुनसके मूल्य अझै घटाउन सकिने निर्देशक लामिछानेको भनाइ छ । फास्टट्रयाकले भारतमा वार्षिक रु दुई अर्ब बराबरको मोबाइल बिक्री गर्दै आएको बताइएको छ ।

समाचारमा लेमन ब्राण्डमा नै मोबाइल उत्पादन हुने हो वा अन्य कुनै नेपाली ब्राण्डमा उत्पादन हुने हो भन्ने कुनै जानकारी छैन् । संभवत कम्पनीले नेपालमा लेमन ब्राण्डको बिक्री बढाउन एसेम्बल्ड प्लान्ट लगाउने तयारी गरेको हो ।

माध्यम

easy care

प्रकाशित: २९ मंसिर २०७३, बुधबार