क्यास अन एड एप फेरि विश्व बजारमा आउँदै, मोबाइल एपमा विज्ञापन हेरेपछि पैसा पाईने

Technology Khabar १२ फाल्गुन २०७२, बुधबार

क्यास अन एड एप फेरि विश्व बजारमा आउँदै, मोबाइल एपमा विज्ञापन हेरेपछि पैसा पाईने
क्यास अन एडको त्यसबेला गरीएको विज्ञापनको नमूनाः गूगलबाट

काठमाडौं ।

काठमाडौं, १२ फागुन । एफ वान सफ्टको (F One Soft) मोबाइल एप क्यास अन एड (Cash on Ad) पुन विश्व बजारमा उदाउने भएको छ । कुनै समय नेपालमा निकै चर्चित मोबाइल एप बन्न पुगेको क्यास अन एड पुनः दक्षिण पूर्वी एशिया तथा ल्याटिन अमेरिकी मुलुकहरुबाट उदाउन लागेको हो ।

क्यास अन एडको लोगोः गूगलबाट
क्यास अन एडको लोगोः गूगलबाट

एफवान सफ्टले क्यास अन एड मोबाइल एपलाई दक्षिण पूर्वी एशियाको मलेशिया तथा ल्याटिन अमेरिकी मुलुक इक्वेडरबाट सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि फेब्रुअरीको अन्त्य वा मार्चको पहिलो साताभित्र क्यास अन एड ती मुलुकहरुमा सार्वजनिक गर्न लागेको एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालले जानकारी दिए । ‘हामी यो वर्षको पहिलो त्रैमासमा दक्षिण पूर्वी मुलुकमा क्यास अन एडलाई सार्वजनिक गर्ने तयारीमा छौं ।’ उनले भने, ‘पहिलो चरणमा दुई मुलुकमा सार्वजनिक गर्ने तयारीमा छौं ‘

कम्पनीले यसको लागि केहि काम अझै बाँकी रहेको जानकारी दिएको छ । हाल कम्पनीले दक्षिण पूर्वका १७ मुलुकमा क्यास अन एडको लाइसेन्स लिएको छ । ती सबै देशहरुमा बिस्तारै क्यास अन एड सार्वजनिक गर्दै जाने अध्यक्ष ढकालले जानकारी दिए । त्यसैगरी यो मोबाइल एप ल्याटि अमेरिकाका ६ वटा मुलुकमा पनि सार्वजनिक गर्ने योजनामा कम्पनीले रहेको छ ।

कम्पनीले ल्याटिन अमेरिकाका मेक्सिको, इक्वेडर, चिली र ब्राजिललगायतका देशमा यसको ट्रेडमार्क लिईसकेको छ भने अन्य मुलुकहरुमा लिने तयारीमा छ । दक्षिण पूर्वी एशियाली मुलुक मलेशिया, इण्डोनेशिया तथा फिलिपिन्सलगायतका देशहरुमा पनि अनुमती दिएको अध्यक्ष ढकालले बताए ।

यो एपको कन्सेप्ट नेपालमा सन् २०१३ मा पहिलो पटक सार्वजनिक गरिएको थियो भने पहिलो चरणमा यो निकै सफल भएको थियो । एप सार्वजनिक भएको पहिलो ३ महिनामा नै त्यसबेला २ लाख भन्दा बढि यूजरहरु दर्ता भएका थिए । तर यो कन्सेप्ट नेपालमा बिस्तारै असफल भयो र हाल यसको बारेमा अधिकांशलाई जानकारी पनि छैन् । ‘हामीले प्रयोगकर्तालाई भने बमोजिमको पैसा एप मार्फत दिन सकेनौं । उनले भने, क्यास अन एडको कन्सेप्टका लागि नेपाल एकदमै सानो मार्केट भयो ।’

क्यास अन एडको त्यसबेला गरीएको विज्ञापनको नमूनाः गूगलबाट
क्यास अन एडको त्यसबेला गरीएको विज्ञापनको नमूनाः गूगलबाट

कम्पनीले हाल यसलाई आफ्नो असफलताको सूचीमा राखेपनि पुन यसलाई विश्व बजारमा ल्याउने तयारी गरेको हो । त्यसबेला निकै नयाँ कन्सेप्टको रुपमा आएको यो एप खरिद गर्न विभिन्न क्रेताहरु आएपनि बिक्री गरिएको थिएन् । तर कम्पनीले यसमा करोडौं रुपैंया डुबाएको कम्पनी स्रोतले जानकारी दिएको छ । त्यो रकम उठाउनका लागि पनि यो कन्सेप्टलाई पुन ल्याउन लागिएको स्रोतको भनाई छ । कम्पनीका अध्यक्ष ढकाले भने कति रकम हालसम्म डुब्यो भन्ने जानकारी दिन चाहेनन् ।

क्यास अन एड हाल गूगलको प्ले स्टोरमा उपलब्ध रहेपनि हाल त्यसका प्रयोगकर्ता नगन्य मात्र रहेका छन् । यो एप हाल डाउनलोड गर्ने चाहनेहरु अझै पनि रहेका छन् । जसले एप डाउन हुन नसकेको वा क्र्यास भएको वा लगइन नभएको गुनासो आफ्नो कमेन्टमा उल्लेख गरेका छन् ।CashOnAd - Android Apps on Google Play 2016-02-24 15-49-58

यो एप गूगल प्ले स्टोरमा सन् २०१४ डिसेम्बर १८ तारिखदेखि अपडेट भएको छैन् भने त्यहाँ ५० हजारसम्म इन्स्टल भएको देखाएको छ । प्ले स्टोरमा यो एप ११ एमबी साइजको भएको र ३.३.८ भर्सनमा उपलब्ध रहेको उल्लेख छ भने यसले ३.४ रेटिंग पाएको छ ।

नेपालमा यो एप फेरी अाउँछ वा अाउँदैन भन्ने बारेमा अहिले केहि भन्न नसकिने अध्यक्ष ढकालले बताए ।

नेपालको सूचना, संचार तथा प्रविधिको अवस्था र एफ वान सफ्टको विषयसहित प्रविधिको अहिलेको अवस्थाको बारेमा एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालसँग गरिएको कुराकानी पनि छिट्टै प्रकाशित गर्नेछौ‌ ।

easy care

प्रकाशित: १२ फाल्गुन २०७२, बुधबार