Technology Khabar १५ आश्विन २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, १५ असोज । माइक्रोसफ्ट कर्पोरेशनले आफ्नो विण्डोज अपरेटिंग सिस्टमको नयाँ भर्सन सार्वजनिक गरेको छ । माइक्रोसफ्टले विभिन्न हल्लाका विचमा सानफ्रान्सिस्कोमा मंगलवार आयोजित एक कार्यक्रममा विण्डोज १० अपरेटिङ सिष्टम सार्वजनिक गरेको हो । यस अघि माइक्रोसफ्टले २ वर्ष पहिले विण्डोज ८ सार्वजनिक गरेको थियो जुन आशातित सफल हुन सकेन् ।
नयाँ भर्सन सार्वजनिक हुनुअघि माइक्रोसफ्टले विण्डोज ९ देखि विण्डोजको नयाँ भर्सन सार्वजनिक गर्ने चर्चा चलिरहेको थियो तर माइक्रोसफ्टले नयाँ भर्सनको नाम विण्डोज १० राखेको छ । नयाँ भर्सनले पुरानो विण्डोज ८ लाई प्रतिस्थापन गर्ने अपेक्षाका साथ नयाँ भर्सन आएको छ ।
माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिष्टममा कयौं यस्ता फीचर्सहरु पुनः राखेको छ जसको कमीका कारण विण्डोज ८ लाई सफलता मिलेको थिएन । कम्पनीकाअनुसार विण्डोज १० निकै यूजर फ्रेण्डली हुनेछ । विण्डोज १०मा विण्डोज ७ को जस्तै स्टार्ट बटन हुनेछ भने विण्डोज ८ को जस्तै विण्डो टाइल्सपनि राखिएको छ ।
माइक्रोसफ्टका कार्यकारी उपाध्यक्ष तथा अपरेटिङ सिष्टमका प्रमुख टेरी माइरीसनले विण्डोज १० को बारेमा जानकारी दिँदै भने, ‘यो भर्सन फोनदेखि गेमिंग कन्सोलसम्म अलग अलग डिभाइसमा काम गर्दछ ।’
टेक अनुसन्धान संस्था फोरेस्टरकाअनुसार माइक्रोसफ्टको विण्डोज ८ मा २० प्रतिशत संस्थाहरुमा प्रतिस्थापित भएका थिए । अधिंकाश कम्प्यूटर प्रयोगकर्ताहरुले टच अप्टिमाइज इन्टरफेश र परम्परागत स्टार्ट बटम नराखिएको भन्दै मनपराएका थिएनन् ।
यसका साथै कम्पनीले यो नयाँ अपरेटिङ सिस्टम विजनेस कस्टमरहरुमा ध्यान केन्द्रित हुने जनाएको छ । कम्पनीले नयाँ भर्सन कहिलेदेखि बजारमा आउँछ भन्ने जानकारी नदिएपनि कम्पनीका एक अधिकारीकाअनुसार नयाँ अपरेटि९ सिष्टम आगामी वर्षको जुलाईदेखि मात्रै बजारमा उपलब्ध हुनेछ । बुधवारदेखि कम्पनीको वेवसाइटमा नयाँ भर्सनको टेक्निकल प्रिभ्यू राखिने संभावना रहेको छ, जसको आधारमा प्रयोगकर्ताहरुले प्रयोग गरेर कम्पनीलाई कमी, कमजोरीको बारेमा जानकारी दिउन् ।
बजार विशेषज्ञहरुका अनुसार यो नयाँ अपरेटिङ सिष्टम सफल हुनु माइक्रोसफ्टका लागि निकै आवश्यक रहेको छ । यसले कम्पनी तथा उसको नयाँ सिईओ सत्या नडेलामा निकै असर पार्नेछ ।
माइक्रोसफ्टको योजना यस्तो अपरेटिङ सिष्टम बनाउनु छ की जुन ४ इंचको स्क्रीनदेखि ८० इन्चको स्क्रीनसम्म प्रयोग गर्न सकियोस ।
एप्पलको आईफोन र आईप्याड तथा गुगलको एन्ड्रोइड डिभाइसका कारण पछिल्लो समय माइक्रोसफ्टले विण्डोजका लागि कठिन संघर्ष गर्नु परिरहेको छ ।
दश वर्ष अगाडि पर्सनल कम्प्यूटरमा एकाधिकार रहेको माइक्रोसफ्ट र त्यसको विण्डोज हाल १४ प्रतिशत डिभाइसहरुमा मात्र प्रयोग हुँदै आएको अनुसन्धान संस्था गार्टनरले जनाएको छ ।
प्रकाशित: १५ आश्विन २०७१, बुधबार