Technology Khabar १६ भाद्र २०७८, बुधबार
काठमाडौं ।
विभिन्न अध्ययन अनुसन्धान तथा आविष्कार गर्दै आएको राष्ट्रिय आविष्कार केन्द्रले मोटरसाइकल धुने अटोमेटिक मेसिन बनाएर प्रयोगमा ल्याएको छ। उक्त मेसिनको प्रयोगसँगै नेपालमा स्वचालितरुपमा गाडी धुनको लागि नयाँ प्रविधिको उपलब्ध भएको छ।
विदेशमा मेसिनबाट नै गाडी धुनसकिने सुबिधा रहेको छ तर नेपालमा भने गाडीदेखि मोटरसाइकलसम्म हातले नै धुने अर्थात म्यानुअल्ली सफा गर्ने गरिन्छ।
तर अब भने आविष्कार केन्द्रले बनाएको नयाँ मेसिनबाटै नेपालमा पनि स्वचालितरुपमा मोटरसाइकल धुन सकिने भएको हो।
अटोमेटिक मोटरसाइकल वासिङ्ग मेसिन तयार पारेर प्रयोगमा आईसकेको आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले बताए।
आविष्कार केन्द्रका एक अनुसन्धानकर्ता समूहले मोटरसाइकल धुने अटोमेटिक मेसिन विकास गरेका हुन् । करिब ७ महिनाको मिहिनेतपछि अटोमेटिक मोटरसाइकल धुने मेसिन बनाउन सफल भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले जानकारी दिएका हुन्।
यो मेसिन आविष्कार केन्द्रले यामाहा मोटरसाइकलको डिलर रिसिक अटोमोबाइल प्रालि काठमाडौंका लागि बनाएको हो। पहिलो मेसिनमा देखिएका केही त्रुटीहरु अर्को मेसिन बनाउँदा सुधारिने पुनले बताए ।
अहिलेसम्म उक्त मेसिनले ११० भन्दा बढी मोटरसाइकलहरू धोईसकेको बताईएको छ।
आविष्कार केन्द्रलाई यस्तै अटोमेटिक मोटरसाइकल धुने मेसिन होन्डा मोटरसाइकलको डिलरले पनि अर्डर गरेको पुनले जानकारी दिए । यो मेसिन निर्माण गर्न करिब ४ लाख रूपैयाँ हाराहारी लागत लागेको उनको भनाई छ ।
आविष्कार केद्रले यसअघि बेबी वार्मर, आईसोलेसन चेम्बर, मिनि अक्सिजन प्लान्ट, ईमर्जेन्सी भेन्टिलेटर, ब्याट्रीबाट चलाउन सकिने बुथ लगायतका सामग्रीहरू विकास गरिसकेको छ।
प्रकाशित: १६ भाद्र २०७८, बुधबार