Technology Khabar २८ माघ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले दूरसंचार सेवा प्रदायकहरुको लेखाको विबरण मात्र नभई उनीहरुमार्फत खपत हुने डाटाहरुको समेत लेखापरीक्षण गर्ने भएको छ ।
हालै महालेखाले नेपाल दूरसंचार प्राधिकरणमातहतका दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुले नेपालमा प्रयोग गरिने सामाजिक संजालहरुको लागि उपयोग हुने डाटाको तथ्यांक माग गरेको छ ।
महालेखाले प्राधिकरणमार्फत दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुसँग फेसबुक, ट्विटर, वीच्याट, मेसेन्जर, लगायतमा खपत हुने डाटाहरुको तथ्यांक माग गरेको छ ।
हालै महालेखाको निर्देशनअनुसार प्राधिकरणले आफू मातहतका दूरसंचार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई सो सम्बन्धि तथ्यांक माग गर्दै पत्र पठाएको छ । सो पत्रअनुसार इन्टरनेट सेवा प्रदायकहरुले आफूले सामाजिक संजाल प्रयोगका लागि दिएको ब्याण्डविथको बारेमा जानकारी दिनुपर्नेछ भने त्यसमा राखिने विज्ञापनको लागि खपत भएको ब्याण्डविथको पनि तथ्यांक बुझाउनुपर्नेछ ।
महालेखाले ग्राहकहरुले समाजिक संजालका लागि प्रयोग गरेको तथ्यांक कम्पनीहरुसँग माग गरेको हो । जसमा कम्पनीहरुले भ्वाइसमा प्रयोग भएको डाटाको छुट्टै बिबरण दिनुपर्नेछ भने अन्य सामाजिक संजालहरुमा प्रयोग भएको कुल डाटाहरु र त्यसमा विज्ञापनमा प्रयोग भएको डाटाको बारेमा उल्लेख गर्नुपर्नेछ ।
महालेखाको पत्रअनुसार विशेषगरि फेसुबक, भाइबर, ह्वाट्सएप,वीच्याट र इन्स्टाग्राम प्रयोग हुने खपत भएको डाटाको बारेमा भने स्पष्टरुपमा बिबरण बुझाउनुपर्नेछ ।
यस्तो बिबरण आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मको तोकिएको ढाँचामा बुझाउनुपर्नेछ ।
प्रकाशित: २८ माघ २०७६, मंगलवार