सामाजिक सञ्जाल र युट्युबबाट भ्रामक सूचना र बीभत्स तस्बिर नदिन प्रहरीको आग्रह

Technology Khabar १० बैशाख २०८१, सोमबार

सामाजिक सञ्जाल र युट्युबबाट भ्रामक सूचना र बीभत्स तस्बिर नदिन प्रहरीको आग्रह

काठमाडौं ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रकाशन प्रसारण गरिने सूचना र सन्देशले अनुसन्धानमा असर पर्ने र सामाजिक मनोविज्ञानमा समेत असर पर्ने भएकाले सजग र सचेतना अपनाइदिन प्रहरीले आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित ‘आपराधिक घटनाको समाचार सम्प्रेषणमा सजगता विषयक अन्तर्क्रिया कार्यक्रममा विभागले कतिपय गलत सूचनाले अनुसन्धानमा प्रभाव पारेको विभागले जनाएको छ।

सामाजिक सञ्जाल र कतिपय सूचीकरण नगरिएका युट्युब च्यानलमार्फत दर्शक आकर्षित गर्न भ्रामक सूचना र बीभत्स तस्बिर दिने क्रम बढ्दै गएको भन्दै बिभागले समाजमा नकारात्मक असर पुग्ने दृश्य र सन्देश प्रवाह नगर्न आग्रह गरेको हो।

अन्तक्रिया कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङले मानवीय संवेदनालाई ख्याल गर्दै नकारात्मक सन्देश बीभत्स दृश्यलगायतका सामग्रीले प्रहरीको अनुसन्धानमा असर पुगेको र समाजमा पनि नकारात्मक असर पुगेको बताए।

कतिपय घटना र दुर्घटना, उद्धार, उपचार तथा राहतमा भन्दा पनि भिडियो खिच्ने र घटनाको संवेदनशीलता नबुझी जस्ताको तस्तै प्रकाशन तथा प्रसारण नगरिदिन आग्रह गर्दै तामाङले भने “अनुसन्धान गर्ने अधिकारीको अपेक्षाचाँहि यस्तो नगरिदिए हुन्थ्यो भन्ने हुँदोरहेछ।”

“तथ्यमा आधारित नभएका समाचार जथाभावी रुपमा सम्प्रेषण गर्दा आम जनताप्रति भ्रम सिर्जना भएको छ, यस्ता समाचार सम्प्रेषणमा विशेष ध्यान दिन जरुरी छ”, उनले भने।

अपराध अनुसन्धान कार्यालयले सञ्चारमाध्यममार्फत यो सन्देश आम सर्वसाधारणसम्म पुगेमा रोकथामका लागि प्रभावकारी हुने बताएको छ।

नेपाल प्रेस काउन्सिलका आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले काउन्सिलले प्रेस काउन्सिल ऐन २०४८ बमोजिम आचारसंहिता निर्माण गरी सञ्चारमाध्यमको अनुगमन गर्दै आइरहेको उल्लेख गरे।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी शाखा अधिकृत शारदा चालिसेले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा मन्त्रालयले काम गरिरहेको बताईन्।

easy care

प्रकाशित: १० बैशाख २०८१, सोमबार