नयाँ प्रचार शैली: ‘सेल्फी विथ केपी बा’

Technology Khabar २५ कार्तिक २०७९, शुक्रबार

नयाँ प्रचार शैली: ‘सेल्फी विथ केपी बा’

काठमाडौं ।

निर्वाचनको मिति मङ्सिर ४ नजिकिसकेको छ, चुनावी रौनक सबैतिर छ। किसानलाई धान काट्न र थन्क्याउन भ्याइनभ्याई छ। राजनीतिक दल तथा यसका नेता कार्यकर्ता, पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरू कतै खेतबारीमा त कतै भजनकिर्तन भएको ठाउँमा गएर मतदातासँग मत माग्ने काम गरिरहेका छन् । यही क्रममा झापा ५ मा मतदाताहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सेल्फी लिन व्यस्त देखिएका छन्।

फरक तवरले आफूतिर मतदाता आकर्षित गर्न उम्मेदवारहरू लागिपरेको समयमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीको फरक किसिमको कार्यक्रमले धेरैलाई आकर्षित गरिरहेको देखिएको छ।

दिउँसो २ बजे फनपार्कमा आएर करिब ४ घण्टासम्म ‘सेल्फी विथ केपी बा’ कार्यक्रम राखिएको थियो । कार्यक्रमको व्यस्तताका कारण अध्यक्ष ओली कार्यक्रमस्थलमा अढाई घण्टा ढिलो पुगेका थिए। फनपार्कमा उनीसँग सेल्फि खिचाउन आउनेको भिड थामिनसक्नु भएको थियो।

श्रीमती राधिका शाक्यसहित मुसुक्क मुस्कुराउँदै जब अध्यक्ष ओली गाडिबाट निस्किए, सबैले मोबाइलमा क्यामेरा तेर्स्याएर फोटो लिन तँछाडमछाड गरे। ओलीले उपस्थित सवैसँग एकल तथा सामूहिक सेल्फिमा करिब ४ घण्टा बिताए। सबैसँग मुसुक्क मुस्कुराउँदै र मतदाताको आग्रहअनुसारको हाउभाउमा उनले फोटो खिचाए।

विशेष गरेर नयाँ र युवा मतदाताका लागि लक्षित कार्यक्रम भए पनि सबै उमेर समूहका व्यक्तिले उत्साहजनक उपस्थिति जनाए। निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. ५ का संयोजक देवेन्द्र दाहालले भने, “धेरैलाई अध्यक्ष ओलीसँग प्रत्यक्ष भेट्न र फोटो खिचाउन रहर भएको देखियो, सोही कारण कार्यक्रम आयोजना गरिएको हो।”

ओलीको सचिवालयका दीपेन्द्र दाहालका अनुसार निवासदेखि कार्यक्रमस्थलमा समेत ओलीसँग फोटो खिच्न धेरैले रहर गर्ने र सोअनुसार समय व्यवस्थापन गर्न कठिन थियो। यो कार्यक्रमले धेरै मतदाता तथा अन्य जो कोहीले पनि उहाँसँग फोटो खिचाउने अभिलासा पूरा गरे।

“कस्तो राम्रो फोटो आएछ, कति ठूलो रहर थियो यसरी फोटो खिचाउन” सेल्फी खिचाएपछि सो फोटो हेरेर मुसुक्क मुस्कुराउँदै २० बर्षीया साधना निरौलाले भनिन्। उनीसहित ७ जना फोटो खिचाउन नै गौरादहबाट आएका रहेछन। ‘एक हजार रुपियाँमा सिटी भाडामा लिएर आएका हौँ,’ उनले भनिन्।

अध्यक्ष ओली बेलुका अबेर अर्थात् ८ बजेसम्म फन पार्कमा मतदाता तथा फन पार्कमा आएकाहरूसँग सेल्फी खिचाएर बसे। कतिपयले उनीसँग आफ्ना मागहरू पनि त्यो अवसरमा राखे। तर अध्यक्ष ओलीले सो अवसरमा खास राजनीतिक विषयवस्तु भने राखेनन्। “कोही त छुट्नु भएन नि” उनी ठट्यौली गर्दै फनपार्कबाट बाहिरिए। गोरखापत्रबाट

easy care

प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार