फेसबुकले गरायो ५८ वर्षपछि मिलन

Technology Khabar ४ बैशाख २०८०, सोमबार

फेसबुकले गरायो ५८ वर्षपछि मिलन
Global IME Bank

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएका हुन्।

हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेटे। त्यसपछि उनी बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गरे। दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन।

बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाए। त्यसपछि उनी बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आए। बहिनी हिमाले भनिन, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ। बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु।”

उनका दाजु डीपीको अनुभव पनि बहिनीको जस्तै छ। उनले बहिनी, आफन्त र परिवारसँग भेट हुने सबै आशा समाप्त भइसकेका बेला फेसबुकबाट आफन्तको खोजी गरेर नेपाल आएर भेट्न पाउँदा अति नै खुसी लागेको बताए।

वि.सं. २००५ मा बर्मामा जन्मिएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो । त्यसको एक वर्षपछि उनीहरू नेपाल आएका हुन्। नेपाल आएपछि चार/पाँच वर्ष चिठीपत्र आदानप्रदान भए पनि पछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो । उनका हजुरबुवा नारायणप्रसाद घिमिरे बर्मा घुम्न गएको र उतै बसेका थिए। उनका १२ छोराछोरी जन्मिएका थिए। १२ छोराछोरीमध्ये हिमा माइली छोरी हुनुहुन्छ।

दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले जानकारी दिए।

सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै राम्रा र उल्लेखनीय काम हुन सक्छन् भन्ने थुप्रै उदाहरण छन्। तीमध्ये एक उदाहरण बनेको छ, ५८ वर्षपछि दाजु र बहिनीको भेटघाट। गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: ४ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया