एआईले अर्को पाँच वर्षमा लाखौं रोजगारी खोस्ने सर्वेक्षणको दाबी

Technology Khabar २६ चैत्र २०८०, सोमबार

एआईले अर्को पाँच वर्षमा लाखौं रोजगारी खोस्ने सर्वेक्षणको दाबी

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसको कामलाई धेरै गुणा सजिलो बनाएको भए पनि यसले मानिसको जीवनमा प्रतिकूल प्रभावसमेत पारिरहेको छ। यसैबीच आगामी ५ वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) ले लाखौं मानिसको रोजगारी खोस्ने एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।

भर्खरै, एक सर्वेक्षणले दाबी गरेको छ कि ठूला टेक कम्पनीहरूले आफ्नो कार्यबललाई ४१ प्रतिशतले घटाउनेछन् र यसलाई एआईले प्रतिस्थापन गर्नेछन्। यो सबै आगामी पाँच वर्ष भित्र हुने दाबी गरिएको छ।

स्टाफिङ फर्म एडेको ग्रुपले एउटा सर्वेक्षण गरेको छ जसमा स्वचालनको ठूलो लहर अर्थात् स्वचालितरुपमा गरिने काममा आउँदैछ। विश्वभरका ठूला कम्पनीहरूले आउँदो पाँच वर्षभित्र ठूलो संख्यामा आफ्ना कर्मचारीहरूलाई निकाल्ने संभावना रहेको छ।

एआईको प्रयोग तीव्र गतिमा बढिरहेको छ। यो एक प्रविधि हो जसले यथार्थपरक टेक्स्ट, तस्विर र भिडियोहरू सिर्जना गर्न सक्छ। धेरै मानिसहरूका लागि यो दोहोरिने दैनिक कार्यहरूबाट भाग्ने माध्यम बनेको छ, जबकि अरूहरूका लागि यो उनीहरूको जागिरको लागि ठूलो खतरा भएको छ।

एडेकोका सीईओ डेनिस माचुएलले रोयटर्सलाई दिएको बयानमा कृत्रिम बुद्धिमत्ताले लगभग सबै प्रकारका रोजगारीहरूलाई असर गर्ने बताए- चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्ष। एआई एक रोजगार सिर्जनाकर्ता र रोजगार हत्यारा दुवै हो!

उनले करिब एक दशकअघि डिजिटल प्रविधिको आगमनसँगै मानिसहरुमा यस्तै डरले सताएको अनुभव रहेको बताए। तर डिजिटलले धेरै रोजगारी पनि सृजना गरेको छ। एआईमा पनि त्यस्तै हुन सक्छ, रोजगारी गुम्यो भने रोजगारी पनि सृजना हुन्छ तर सन्तुलन भने कायमै रहने उनको विश्वास छ।

सर्वेक्षणमा ९ देशका कर्मचारीलाई समावेश गरिएको थियो। यी कर्मचारीहरू १८ प्रकारका उद्योगसँग सम्बन्धित छन्। यसमा ह्वाईट कलरका साथसाथै ब्लू कलरका काम भएका कर्मचारीहरू समावेश थिए। वर्ल्ड इकोनोमिक फोरमले यसअघि एउटा सर्वेक्षण गरेको थियो जसमा आधा कम्पनीहरूले एआईको आगमनले नयाँ रोजगारी सिर्जना गर्ने बताएका थिए। जबकि आधा कम्पनीले रोजगारी गुमाउने कुरा गरेका थिए।

प्राविधिक कम्पनीहरूमा निरन्तर छाँटकाँटले यो डरलाई थप बल दिइरहेको छ। गुगल र माइक्रोसफ्ट जस्ता टेक दिग्गजहरूले आफ्नो च्याटबटहरू लन्च गरेका छन्। जुन रातारात लोकप्रिय बनेको छ र प्रयोगकर्ताहरूले व्यापक रूपमा प्रयोग गरिरहेका छन्।

प्राविधिक कम्पनीहरू मात्रै होइन, अब गैर-टेक फर्महरूले पनि एआई प्रयोगमा ल्याएर कर्मचारी घटाउने दिशामा कदम चालेका छन्, जसमध्ये ड्रपबक्स र डुओलिङ्गोको नाम पनि आउँछ।

easy care

प्रकाशित: २६ चैत्र २०८०, सोमबार

ताजा समाचार