सूचना प्रविधिको क्षेत्रमा आवश्यक हुने जनशक्ति तयार गर्न सञ्चार मन्त्रीको सुझाब

Technology Khabar ३ बैशाख २०८०, आईतवार

सूचना प्रविधिको क्षेत्रमा आवश्यक हुने जनशक्ति तयार गर्न सञ्चार मन्त्रीको सुझाब

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिएकी छन्।

सूचना प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादनका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)का अधिकारीहरुसँग छलफलमा उनले सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ कोर्ष आवश्यक पर्ने बताईन्।

‘सूचना प्रविधि अब सामान्य सिपमा आधारित विषय रहेन’, उनले भनिन्, ‘जसरी चिकित्साशास्त्रमा फरक फरक विषयमा विशेषज्ञ उत्पादन गरिन्छ, त्यसरी नै सूचना प्रविधिमा पनि फरक फरक विषयका विशेषज्ञ उत्पादन गर्नुपर्ने अवस्था आएकाले दक्ष र अर्धदक्ष जनशक्ति उत्पादन गर्ने सबै निकायले समयानुकूल पाठ्यक्रममा सुधार ल्याउनु आवश्यक छ।’

नेपालमा सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा जोड दिने र अर्धदक्ष जनशक्तिलाई रोजगारीसँग जोड्ने सवालमा के कस्ता कार्यक्रम तयार गर्न सकिन्छ, त्यसमा ध्यान दिन पनि उनले शिक्षा मन्त्रालय र सिटिईभिटीका अधिकारीहरुलाई आग्रह गरिन्। ‘हुन त यो शिक्षा मन्त्रालयको काम हो तर सूचना प्रविधिका जनशक्ति उत्पादनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि चासो छ’, उनले भनिन्, ‘अन्तर मन्त्रालय समन्वयको माध्यमबाट यसलाई अझै व्यवस्थित गर्न आवश्यक देखिएको छ, हामी हाम्रो मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं।’

सिटिईभिटीका अधिकारीहरुले प्रिडिप्लोमा र डिप्लोमाअन्तर्गत कम्प्युटर इञ्जिनियरिङ र सूचना प्रविधिमा पठनपाठन भइरहेको भए पनि विद्यार्थीहरुको अपेक्षाकृत आकर्षण नदेखिएको जानकारी गराएका थिए।

यो वर्ष प्रिबोर्डतर्फ कम्प्युटर इञ्जिनियरिङमा एक हजार नौ सय ६० कोटा रहेकोमा नौ सय १६ र सूचना प्रविधितर्फ दुई सय ५० कोटा रहेकोमा दुई सय ५० जनाले अध्ययन गरिरहेका छन् ।

तर, डिप्लोमातर्फ भने कोटाभन्दा आधा संख्यामा मात्रै विद्यार्थीहरुले पढिरहेका छन् । डिप्लोमा तर्फ कम्प्युटर इञ्जिनियरिङमा दुई हजार ५६ कोटा रहेकोमा नौ सय ३२ र सूचना प्रविधितर्फ एक हजार दुई सय कोटा रहेकोमा छ सय पाँच जनाले मात्रै पढिरहेका छन्।

easy care

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

ताजा समाचार