सरकारी डाटा केन्द्रमा प्राविधिक समस्या आउँदा अध्यागमन ठप्प, नेटवर्क बाइपास गरेर चलाउने तयारी

Technology Khabar १४ माघ २०७९, शनिबार

सरकारी डाटा केन्द्रमा प्राविधिक समस्या आउँदा अध्यागमन ठप्प, नेटवर्क बाइपास गरेर चलाउने तयारी

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।

सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) को सर्भरमा देखिएको समस्याका कारण अध्यागमनकै सबै सेवा ठप्प भएको हो।

आज दिउँसो २ बजेदेखि सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) को सर्भर डाउन भएको हो।

अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

“सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन। भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्”, उनले भने।

विमानस्थल कार्यालयकाअनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको छ।

यसैबीच राष्ट्रिय सूचना प्रविधि केन्द्रले अध्यागमनको लागि छुट्टै नेटवर्क बाइपास गरेर सेवा संचालनको तयारी गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक रमेश पोखरेलले आज प्राविधिक समस्याका कारण ४ हजार भन्दा धेरै वेबसाइटहरु ठप्प भएको र सरकारी काममा असर परेको बताए।

“हामीले आज निकै तनाब भोगेका छौं र अबदेखि अध्यागमनजस्तो सेवाका लागि छुट्टै नेटवर्क बाइपास गर्ने निर्णय गरेका छौं,” निर्देशक पोखरेलले भने।

सरकारी डाटा सेन्टरडाउन हुँदा अन्य सेवाका कामहरु समेत ठप्प भएका छन् तर आज शनिवार बिदाको समय हुँदा धेरै चाप नपरेको केन्द्रको भनाई छ।

easy care

प्रकाशित: १४ माघ २०७९, शनिबार