महँगा फोन आयातको प्रतिबन्ध हट्दा पुसमा करिब २ अर्बको स्मार्टफोन भित्रियो

Technology Khabar १० माघ २०७९, मंगलवार

महँगा फोन आयातको प्रतिबन्ध हट्दा पुसमा करिब २ अर्बको स्मार्टफोन भित्रियो

काठमाडौं ।

महँगा फोन आयातको प्रतिबन्ध हटेसँगै नेपालमा करिब २ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। पुसमा १ अर्ब ८० करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

चालु आर्थिक वर्ष २०७९/८० को पुसमसान्तसम्म १३ अर्ब ९८ लाख ८८ हजार रुपैयाँ बराबरको ८ लाख ९५ हजार ५७८ यूनिट स्मार्टफोन आयात भएको छ। गत मंसिरमा ११ अर्ब २० करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको ८ लाख ३ हजार ८१८ यूनिट स्मार्टफोन आयात भएको थियो।

सरकारले विदेशी मुद्राको सञ्चिती घट्दै गएको भन्दै गत वैशाखमा ३०० अमेरिकी डलर माथिको स्मार्टफोन सहित १० प्रकारको वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। पुसदेखि भने सरकारले यी वस्तुको आयात माथिको प्रतिबन्ध खुल्ला गरेको छ।

प्रतिबन्ध खुल्ला हुँदा पनि अपेक्षाकृत रुपमा स्मार्टफोन आयात हुन नसकेको मोबाइल फोन इम्पोटर्स संघका उपाध्यक्ष सन्जय अग्रवाल बताउँछन्।

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आउन ढिलाई हुँदा बजारमा ग्रे फोन धेरै भित्रिएका छन्,’ अग्रवालले भने, ‘पछिल्लो समय उपभोक्ताको क्रयशक्ति कम हुँदा नयाँ फोन प्रयोग गर्न चाहनेको संख्या बढ्न सकेको छैन।’

प्रतिबन्ध खुल्ला हुँदा पनि स्मार्टफोनको आयात उल्लेखनिय रुपमा बढ्न नसकेको उनको भनाइ छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ५७ ओटा मुलुकबाट स्मार्टफोन आयात हुने गरेको देखिन्छ।

अधिकतम स्मार्टफोन दुई छिमेकी मुलुक चीन र भारतबाट आयात हुने गरेको छ।

चीनबाट सबैभन्दा धेरै ८ अर्ब ९४ करोड ७३ लाख ६१ लाख हजार रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६४८ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ३ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरको २ लाख ५० हजार २६१ यूनिट स्मार्टफोन आयात भएको छ।

easy care

प्रकाशित: १० माघ २०७९, मंगलवार