एप्पलमा कर्मचारीको राजनीति, बन्ने भयो यूनियन

Technology Khabar ६ असार २०७९, सोमबार

काठमाडौं ।

एप्पलको एक अमेरिकी स्टोरका कर्मचारीहरूले यूनियनको पक्षमा मतदान गरेका छन्। अमेरिकाको मेरील्याण्ड स्थित एप्पल स्टोरका कर्मचारीले यूनियन बनाउन भोटिङ गरेका छन्।

एप्पलको इतिहासमा पहिलो पटक कर्मचारीहरुले यूनियन बनाउन लागेको क्यूजेडले उल्लेख गरेको छ। यूनियन निर्माण भए पश्चात कर्मचरीहरु तलब, काम गर्ने अवधिकलगायत विषयमा कम्पनीसँग सिधै वार्ता गर्न सक्छन्।

मेरील्याण्ड स्टोरमा करिब १०० जना कर्मचारी कार्यरत छन्। जसमा ६५ जनाले यूनियनको पक्षमा मतदान गरेका थिए भने ३३ जनाले यसको विरुद्ध मतदान गरेका थिए। योसँगै स्टोरका कामदारहरु अन्तर्राष्ट्रिय संघ मेसिनिस्ट र एयरोस्पेस कामदारहरु (आईएएम)मा आबद्ध हुनेछन्।

‘मैले एप्पलका सीईओ टिम कुकलाई चुनावी नजिताको सम्पान गर्न र आईएम कोर एप्पलका कर्मचारीसँग सम्झौता छिटो गर्न आग्रह गरेको छु,’ आईएम अन्तर्राष्ट्रिय अध्यक्ष रोबर्टृ मार्टिनेज जूनियरले वक्तव्यमा बताएका छन्, ‘यो विजयले एप्पल स्टोर र अमेरिकाका विभिन्न उद्योगहरुमा यूनियनहरुको बढ्दो मागलाई दर्शाउँछ।’

पहिला पनि भएको थियो यूनियन बनाउने प्रयास

वासिङटन पोष्टले गत फेब्रुअरीमा प्रकाशित गरेको रिपोर्टका अनुसार एप्पलको १४ वटा स्टोरमा यूनियन गठन गर्न खोजिएको छ। यूनियनका लागि निर्वाचन गराउने म्यारील्याण्ड स्टोर पहिलो हो। एटलान्टा र न्यूयोर्कको एप्पल स्टोरमा भने यूनियनले कम्पनीको विरुद्ध काम गर्ने आरोप लगाएर भोटिङ स्थगित गरिएको थियो।

दुई तरिकाले बनाउन सकिन्छ यूनियन

यूरोपियन देशका तुलनामा अमेरिकामा यूनियन धेरै लोकप्रिय छैन। तर कानूनले भने यसलाई संरक्षण गरेको पाइन्छ। यूनियन बनाउने दुई तरिका छ। कम्पनी आफैले यूनियनलाई मान्यता दिन सक्छ वा ३० प्रतिशत कामदारको हस्ताक्षरको आधारमा राष्ट्रिय श्रम सम्बन्ध बोर्ड (एनएलआरबी)ले यूनियनका लागि निर्वाचन गराउन सक्छ।

easy care

प्रकाशित: ६ असार २०७९, सोमबार